राजनीति

कोरोनाविरुद्ध युद्धस्तरमा कार्य गरौं: देउवा

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको जोखिमप्रति सावधानीका लागि सरकारले प्रभावकारी बन्दोबस्तीका लागि तयारी नगरेको गुनासो गरेका छन्। विश्वभर नै कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गइरहेका बेला सोमबार नौ बुँदे सन्देश जारी गर्दै सबैलाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरेका हुन्।

कोरोना भाइरस(कोबिड १९)को जोखिम सामना गर्न सरकारलाई आफ्नो दलको सम्पूर्ण साथ र सहयोग रहेको जनाउँदै देउवाले सीमा नाकामा प्रभावकारी र भरपर्दो परीक्षण नहुँदा नेपालमा कुनै पनि समय संक्रमण भित्रिन सक्ने खतरा औंल्याएका छन्। सम्भावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न आग्रह गर्दै देउवाले भनेका छन्, ‘जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्नेछ।’

कोरोनाका विषयमा अनेकन अफवाह फैलिरहेको भन्दै देउवाले त्यसलाई चिर्दै आम नागरिक माझ सत्यतथ्य सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेका छन्।

अत्यावश्यक खाद्यान्नको मूल्य वृद्धिसँगै कालोबजारी फस्टाएको भन्दै देउवाले बजारमा सरकारको उपस्थिती कम देखिएको जनाएका छन्। सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जानेतर्फ सरकारलाई ध्यानाकर्षण गराउँदै देउवाले समयमै आवश्यक रणनीति निर्माण गर्न आग्रह गरेका छन्। पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै उद्योग र अन्य व्यावसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेको उनले जनाएका छन्। ‘समग्र निजि क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता छ,’ देउवाद्वारा जारी अपिलमा भनिएको छ, ‘विद्यार्थीको शैक्षिक भविष्यलाई असर नपर्ने गरि जोखिमबाट जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गर्दछु।’

सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थितिमा गरिबीको रेखामुनि, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था आउनसक्ने भन्दै देउवाले उनीहरूका लागि विशेष राहतको योजना ल्याउन पनि सरकारलाई सुझाएका छन्।

यसैबीच, कांग्रेस नेता रामचन्द्र पौडेलले विश्वभर कोरोना संक्रमण बढेको भन्दै केहीदिन भेटघाट र सार्वजनीक कार्यक्रम स्थगित गरेका छन्। टेलिफोनमै कुरा गर्ने पनि उनले सोमबार विज्ञप्ति जारी गरेर उल्लेख गरेका छन्।

प्रकाशित: ४ चैत्र २०७६ ०२:२२ मंगलबार

शेरबहादुर_देउवा कोरोना_भाइरस सावधानी