राजनीति

सत्ताधारी दलकै सांसदले मागे मुख्यमन्त्रीको राजीनामा

लहान - उपभोक्ता समितिको भुक्तानी हुन नसक्दा दुई महिनासम्म बस्न नसकेको प्रदेश २ प्रदेशसभाको बैठक सुरु भएपछि पुनः भुक्तानीकै विषयले प्रवेश पाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा सत्ताधारी दलदेखि प्रतिपक्षी दलका सांसदसम्म भुक्तानीको विषयमा सरकारलाई घेरेका थिए।

राष्ट्रिय जनता पार्टी(राजपा)का सांसद मनिषकुमार सुमनले त प्रदेशसभामै मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन्।  प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सांसद सुमनले प्रदेशलाई अग्रगतिमा डो-याउन असफल भएको आरोप लगाउँदै मुख्य मन्त्रीको राजीनामा मागेका हुन्।

पछिल्लो आठ महिनामा प्रदेशसभाको चारवटा बैठक मात्र बसेको उनले बताए। चालु आर्थिक वर्षको दुई चौमासिक बितिसक्दा समेत गत आर्थिक वर्षमा उपभोक्ताले गरेको कामको भुक्तानी नहुनु बिडम्बना हो। ‘भुक्तानीका कारण महिनौं सदन अवरुद्ध हुन्छ’ सुमनले भने‘ ठिक ढंगले सरकार सञ्चालन गर्न सक्नुहुन्न भने मुख्य मन्त्री ज्यू राजीनामा गरेर मार्ग प्रशस्त गरिदिनुस्।’

सांसद सुमनले सदनबाट मुख्य मन्त्रीको राजीनामा मागेपछि नेकपाका सांसद रामचन्द्र मण्डलले पनि विशेष समयमा बोल्दै मुख्य मन्त्री राउतलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरेका थिए। मुख्यमन्त्री जस्तो सर्वोच्च पदमा बसेर कर्मचारीले टेरेन भन्दै कहिलसम्म पन्छिनु हुन्छ ? उनले भने,‘ बरु, राजीनामा गरेर सक्षमलाई मार्ग प्रशस्त गरिदिनुस्।’

नेकपा सांसद शत्रुधन महतोले गतवर्षको भुक्तानी समस्यालाई कर्मचारीको असहयोग भनेर टालटुल गर्न खोजिएपनि प्रमुख कारण प्रदेश सरकार नै भएको जिकिर गरे। असारको अन्तिम साता काम गर्ने अख्तियारी दिनु नै भ्रष्टाचार भएको उनको भनाई छ।

गत आर्थिक वर्षको ८७ करोड रुपैयाँ भुक्तानी मामिलामा पुष १५ गतेदेखि संसद बैठक अबरुद्ध थियो। गत आवमा प्रदेश २ सरकारका पाँचवटा विकासे मन्त्रालयले उपभोक्ता समितिमार्फत सम्पन्न गरेका ८ सय १४ योजनाको भुक्तानी हुन सकेको छैन। साउनयताका सात महिना प्रदेश सरकार र प्रदेशसभा दुवैले भुक्तानी विवाद सामाधनको प्रयास गरे पनि सम्भव हुन सकेको छैन। गत वर्षको भुक्तानी यस वर्ष गरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिने डरका कारण सचिवहरूले जोखिम मोल्न चाहेका छैनन्।

८ सय १४ जना उपभोक्ता समितिको भुक्तानी रोकिँदा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार घेराबन्दीमा परेको छ। सत्ता साझेदार दलकै सांसदबाट घेराबन्दीमा पारेको सरकार निकास निकाल्न अनेक प्रयास गरे पनि सफल हुन सकिरहेको छैन।

प्रकाशित: २ चैत्र २०७६ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App