राजनीति

कोरोना संकटले जगाउला सार्कको सान

काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक ट्विट गर्दै दक्षिण एसियाली सहयोग संगठन (सार्क) का नेताहरुसमक्ष कोरोना संक्रमण (कोभिड–१९) सँग लड्न बलियो रणनीतिक योजना बनाउने प्रस्ताव अघि सारेका छन्। भारत र पाकिस्तानबीचको खिचातानीले सार्क निष्क्रिय बनेका बेला मोदीले राखेको प्रस्तावले संकटका बीच यो क्षेत्रीय संगठनले पुनर्जीवन पाउने आशा पलाएको छ। चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को प्रकोप भारतसहित विश्वभर तीव्र गतिमा फैलिँदैछ।

भारतीय प्रधानमन्त्री मोदीले सार्क मुलुकका नागरिकलाई स्वस्थ राख्ने विषयमा यस संगठनका सदस्य मुलुकका नेताहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने जनाएका छन्। उनले स्वस्थ पृथ्वीका लागि योगदान दिएर विश्वमै उदाहरण पेस गर्न सकिने उल्लेख गरेका छन्। सार्कको वर्तमान अध्यक्ष नेपालसहित अन्य सदस्य मुलुकले मोदीको प्रस्तावको स्वागत गरेका छन्। अध्यक्ष राष्ट्रका तर्फबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत मोदीको प्रस्तावको स्वागत गरेका छन्। ओलीले कोरोनाबाट आफ्ना नागरिकको सुरक्षा गर्न सार्क मुलुकहरुसँग निकट रहेर काम गर्न नेपाल सरकार तयार रहेको बताएका छन्।

भुटानका प्रधानमन्त्री लोट्य छिरिङले पनि मोदीको प्रस्तावको स्वागत गरेका छन्। उनले ट्विटरमार्फत सदस्य मुलुकका हिसाबले यस्तो समयमा सबै एकै ठाउँमा आउनै पर्ने बताएका छन्। उनले मोदीको नेतृत्वमा तत्कालै प्रभावकारी नतिजा प्राप्त हुने दाबी गरेका छन्। उनले भिडियो कन्फरेन्सको पर्खाइमा रहेको पनि बताएका छन्।

भारत र पाकिस्तानबीचको खिचातानीले सार्क निष्क्रिय बनेका बेला मोदीले राखेको प्रस्तावले संकटका बीच यो क्षेत्रीय संगठनले पुनर्जीवन पाउने आशा पलाएको छ।

श्रीलंकाका राष्ट्रपति गोतावय राजापक्षले मोदीको पहलका लागि धन्यवाद व्यक्त गर्दै श्रीलंका छलफलमा सहभागी हुन, आफ्नो सिकाइ र अभ्यास बाँड्न तथा अन्य सार्क सदस्य मुलुकसँग सिक्न तयार रहेको बताएका छन्। उनले जारी प्रयासमा ऐक्यबद्धता जनाउँदै यस क्षेत्रका जनतालाई सुरक्षित राख्न आग्रह गरेका छन्।

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले पनि मोदीको पहलमा सुरु भएको महŒवपूर्ण प्रयासका लागि धन्यवाद दिएका छन्। उनले कोभिड–१९ लाई परास्त गर्न संयुक्त पहल आवश्यक रहेको बताएका छन्। माल्दिभ्सले यसलाई स्वागत गर्ने बताउँदै उनले क्षेत्रीय पहलमा पूर्ण समर्थन रहेको जनाएका छन्। मोदीको ट्विटपछि सार्क सचिवालयले समेत यस क्षेत्रमा कोरोनासँग लड्न बलियो रणनीति बनाएर अघि बढ्न तयार रहन रार्क राष्ट्रका नेताहरुलाई आग्रह गरेको छ। अफगानिस्तानी राष्ट्रपतिका प्रवक्ता सेद्धिक सिद्धिकीले पनि मोदीको प्रस्तावको स्वागत गर्दै यस क्षेत्रमा कोरोनासँग लड्न सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। मोदीको प्रस्तावबारे पाकिस्तानले भने प्रतिक्रिया जनाइसकेको छैन।

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई मोदीको प्रस्ताव सार्कको पुनर्जीवनका लागि सकारात्मक संकेत भएको बताउँछन्। मोदीको प्रस्तावले सार्कको आवश्यकता महसुुस भएको संकेत गर्ने उनको बुझाइ छ। सार्कलाई सक्रिय बनाउन यो उपयुक्त समय भएको भट्टराईको विश्लेषण छ।

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय पनि मोदीको प्रस्तावलाई सकारात्मक प्रयास भन्छन्। उपाध्याय प्राविधिक कारणले सार्क सक्रिय हुन नसकिरहेका बेला भारतीय प्रधानमन्त्रीको प्रस्तावले सकारात्मक संकेत गरेको बताउँछन्। सार्कलाई सक्रिय बनाउन अध्यक्ष मुलुकका हिसाबले नेपालका तर्फबाट पनि थप पहल हुन आवश्यक रहेको उनको विश्लेषण छ।

सन २०१४ मा १८ औं सार्क शिखर सम्मेलन नेपालमा आयोजना भएपछि शिखर सम्मेलन आयोजना हुन सकिरहेको छैन। सन् २०१६ नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा हुने भनिएको शिखर सम्मेलन भारतले बहिष्कार गरेपछि रद्द भएको थियो। भारतले सन् २०१६ मा उरीस्थित सैन्य बेसक्याम्पमा आतंकवादी हमला भएपछि हमलाको आरोप पाकिस्तानमाथि लगाउँदै शिखर सम्मेलनमा सहभागी नहुने निर्णय गरेको थियो। प्रत्येक दुइ वर्षमा शिखर सम्मेलन हुने प्रावधान छ।

प्रकाशित: १ चैत्र २०७६ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App