राजनीति

वाईडवडी काण्डमा विना पूर्वाग्रह कारवाही गरौं : माधव नेपाल

काठमाडौं- पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन्।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गरे। उनले तारा गाउँ, वाईडवडी, न्यारोवडी लगायतमा आर्थिक अनियमितताका कयौं प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्नमा जोड दिए।

उनले भने “तारा गाउँ, वाइडवडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्नहरु खडा भएका छन्। वाईडवडीमा त देखा देखी बद्मासी छ। त्यो भईसकेपछि त्यसलाई छानविन, अगाडि बढाउने , कारवाहीको विषय बनाउने। जो सुकै होस् छोड्ने कुरा आउँदैन। जो सुकै जुनसुकै क्षेत्रमा होस्। आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन। पूर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन। दोषीले सँजाय भोग्नुपर्छ।”

उनले विकास निर्माण लगायतका आयोजनाहरु बनाउँदा दीर्घकालिन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिए। छोटो समयमा नै असफल देखिने योजनाहरु बनाईएको भन्दै उनले संभावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गरे। लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा बनाईएको एरोवृजको उदाहरण दिदै त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालिन सोच राख्न नसकिएको बताए।

प्रकाशित: ३० फाल्गुन २०७६ ११:४५ शुक्रबार

वाईडवडी भ्रष्टाचार माधव_नेपाल