राजनीति

बाबुराम भट्टराईले भने : 'धेरैलाई मन पर्छ भनेर 'पपुलिष्ट' कुरा गर्ने लिडर होइन'

काठमाडौं- पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसँग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने बताएका छन्। होटल एम्बासेडोरले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताएका हुन्।

उनले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिले पनि सफल लिडर बन्न नसक्ने बताए। आफू प्रधानमन्त्री भएको बेला काठमाडौ उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षासहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको स्मरण गर्दे उनले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताए। उनले भने,'लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो र अरुले भन्दा पहिले देख्ने हो। अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन। हामी कहाँ के छ भने, धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन्। त्यो लिडरै होइन। लिडर भएर अनपपुलर कुरा गर्न सक्नुपर्छ। सही,साईन्टिफिक कुरा र देश र समाजलाई हित हुने कुरा गर्न सक्नुपर्छ।'

साँघुरा सडकलाई विस्तार गरी ट्राफिक जाम अन्त्य गर्नुको साथै शहरलाई सुन्दर बनाउने आँकाक्षासहित गरेको निर्णयले होटल एम्बासेडोरलाई पनि नोक्सानी पुर्‍याए पनि अहिले पुर्नसंचनापछि झन राम्रो स्वरुपमा आएको भन्दै उनले त्यस कार्यलाई 'क्रियटिभ डिस्टक्सन’को संज्ञा दिए।  

भट्टराई प्रधानमन्त्री भएका बेला कंलकी, त्रिपुरेश्वर, कोटेश्वर हुँदै तिलगंगासम्म, त्रिपुरेश्वर, लाजिम्पाट, महाराजगञ्ज हुँदै बुढानिलकण्ठ जाने बाटो र कमलपोखरी हुँदै विमानस्थल जाने बाटो विस्तारको समयमा यस होटलको केही भाग भत्काउनु परेको थियो।

 

प्रकाशित: २३ फाल्गुन २०७६ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App