राजनीति

'जे हुन्छ राम्रै हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरु। तस्बिर: नागरिक

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा प्रवेश गर्नुअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफन्त र शुभचिन्तकलाई  चिन्ता नलिन र नआत्तिन आग्रह गर्दै भने, ‘मलाई राम्रो हुन्छ, नराम्रो भए पनि आफ्नो देशको माटोमा उपचार हुने भएकाले चिन्ता लिन आवश्यक छैन, जे हुन्छ राम्रै हुन्छ।’ प्रधानमन्त्रीले आफ्नै देशको माटोमा उपचार गराएकाले आफूलाई जे भए पनि फरक नपर्ने र ढुक्क रहन पटकपटक आफन्त र शुभचिन्तकलाई आग्रह गरेको जानकारी वरिष्ठ चिकित्सक अरुण साय्मिले दिए।

प्रधानमन्त्री ओलीलाई भिभिआइपी कक्षको ६०१ शड्ढयाबाट शल्यक्रिया कक्षमा लग्दा बिहान ९ बजेर ५७ मिनेट गएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले बिहान ९ बजेदेखि प्रधामन्त्री ओलीको मिर्गौला प्र्रत्यारोपण सुरु हुने जानकारी दिए पनि तयारी गर्दा करिब एक घण्टा ढिला उनलाई शल्यक्रिया कक्षमा लगिएको थियो। मिर्गौैला दिने समीक्षा ज्ञवालीलाई एक घण्टाअघि नै शल्यक्रिया कक्षमा राखेर मिर्गौला झिक्न शल्यक्रिया थालिसकिएको थियो। ओलीलाई शल्यक्रिया कक्षमा लग्दा उनको पछाडि मन्त्री, सल्लाहकार र चिकित्सक टोली पछिपछि थियो। ओलीलाई शल्यक्रिया कक्षमा प्रवेश गराइएपछि चिकित्सकबाहेक अरु बाहिरिएका थिए। ओलीलाई शल्यक्रिया कक्षतर्फ लगिँदा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले प्रक्रिया सुरु गरेको जनाउ दिँदा १० बजेर दुई मिनेट गएको थियो।

ओलीको स्वास्थ्य लाभको कामना गरी ‘प्ले कार्ड’ बोक्ने पनि अस्पताल परिसरमा देखिन्थे। बेलाबेला अस्पताल परिसरमा रहेका शुभेच्छुकले ओलीको स्वास्थ्यलाभ कामना गर्दै नारा लगाएको सुनिन्थ्यो।

अस्पतालका कार्यकारी निर्देशक खड्काको कार्यकक्षबाहिर ओलीको सुस्वास्थ्यको कामना गर्न पुगेका भिआइपी र पाहुना बस्ने व्यवस्था गरिएको थियो।

अस्पताल परिसरको सुरक्षा व्यवस्था हेर्न महानगरीय प्रहरी आयुक्त डिआइजी विश्वराज पोखरेल महाराजगन्ज बृत्तका डिएसपी उमेश लम्सालसहित उपस्थित थिए।

डा. साय्मिले केही सञ्चारकर्मीलाई मिर्गौला प्रत्यारोण सफल भएको जानकारी गराउँदा प्रधानमन्त्री पत्नी राधिका शाक्य अस्पताल प्रवेश गर्दै थिइन्। डा. साय्मिले शल्यक्रिया भइरहेको समयमा बेलाबेलामा बाहिर निस्केर भित्र भइरहेको गतिविधि जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीलाई मिर्र्गौला दोस्रोपटक प्रत्यारोपण गर्न अमेरिका र सिंगापुर जान पनि सुझाव दिइएको थियो। उनी निकट व्यक्ति र चिकित्सकले पनि विदेशमा गएर प्रत्यारोपण गर्दा राम्रो हुने सल्लाह दिएका थिए। तर प्रधानमन्त्री ओलीले जे भए पनि आफ्नै माटोमा मिर्गौला प्रत्यारोपण गर्ने अडान लिएपछि शिक्षण अस्पतालमै प्रत्यारोपण गरिएको हो।

मिर्गौला प्रत्यारोपण गरिसकेपछि उत्साहका साथ डा. ज्ञवाली आफ्नो टोलीसहित बाहिर निस्किएका थिए। सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिए। प्रत्यारोपण गर्न करिब चार घन्टा लागेको थियो।

प्रकाशित: २२ फाल्गुन २०७६ ००:४८ बिहीबार

शिक्षण_अस्पताल केपी_शर्मा_ओली