राजनीति

कसैले रिस डाहा गरेर हुँदैन अझै माथि जान सक्छु : महरा

रोल्पा सदरमुकाममा बोल्दै महरा । तस्बिर: दिनेश/नागरिक

रोल्पा- पहिले भन्दा अलि असहज परिस्थितिमा गृह जिल्ला रोल्पा आएका पूर्वसभामुख कृष्णबहादुर महराको भब्य स्वागत गरिएको छ। रोल्पा प्रवेशद्धार खुंग्रीदेखि दर्जनौ स्थानमा स्थानीयहरुले फूल, माला र अबिरले स्वागत गरेका थिए। मेवाङस्थित आफ्नो घरको आगन हुँदै र्‍यालीमा सहभागिता जनाउन सदरमुकाम लिवाङ झरेका महरालाई बाजागाजासहित टुँडिखेलसम्म खुसियाली सभामा लगिएको थियो।

‘अहिलेको यो व्यवस्था ल्याउने मध्यको एक व्यक्ति म पनि हो। म तीन पटकको वार्ता टोलीमा वार्ताकार हुँदै संविधानको मस्यौदाकार पनि हो। संविधान सभा सदस्यसमेत हो।’

‘म आफू जन्मे हुर्केको ठाउँमा आएको छु। अलि भाबुक र खुसी पनि भएको छु।’ खुसीयाली सभालाई सम्बोधन गर्दै महराले द्धन्द्धलाई शान्ति प्रकृयामा ल्याउन आफूले खेलेको भूमिका सुनाउदै भने ‘अहिलेको यो व्यवस्था ल्याउने मध्यको एक व्यक्ति म पनि हो। म तीन पटकको वार्ता टोलीमा वार्ताकार हुँदै संविधानको मस्यौदाकार पनि हो। संविधान सभा सदस्य समेत हो।’

अहिले प्राप्त उपलब्धी सिध्याउन एउटा तत्व सक्रिय रहेको बताउदै महराले भने ‘देश र जनताले पाएको अहिलेको उपलब्धी सिध्याउन चाहाने तत्वको षड्यन्त्रमा म परे। राष्ट्रिय स्वाधिनताका लागि मेरो शिर कहिल्यै झुकाउने छैन।’ आक्रोसित मुद्रामा उनले सभामुख भएको मान्छे अझैमाथि नजाओस् भन्ने चाहाना राख्नेहरु प्रति भन्दै थपे ‘राजनीतिमा म अझै पनि माथि जान सक्छु, कसैले रिस डाहा गरेर महरापछि हट्नेवाला छैन।’ महरा २४ वर्षपछि आफ्नो घर मेवाङमा बास बस्ने छन्।
 

 

 

प्रकाशित: २० फाल्गुन २०७६ १२:११ मंगलबार

रिस_डाह महरा