राजनीति

भटाभट नियुक्ति गर्दै देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई केन्द्रीय सदस्य, छ आमन्त्रित सदस्यसहित सात विभाग प्रमुख तोकेका छन्। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बिमतिबीच शनिबार १३ विभाग प्रमुख तोकेका सभापति देउवाले सोमबार त्यसलाई निरन्तरता दिएका हुन्।

सभापति देउवाले धारा ४ (१०) (ग) र (ङ) अनुसार केन्द्रीय सदस्य र आमन्त्रित सदस्यमा मनोनित गरेका छन्। जंगीलाल राय(सर्लाही) र कर्णबहादुर बुढा(डोल्पा)लाई केन्द्रीय सदस्य र मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ(सर्लाही), अभिषेख प्रताप शाह(कपिलवस्तु), दयाराम पाण्डे (लम्जुंग), जनकराज कलौनी(डडेल्धुरा) र भूमिबहादुर (विश्व) गुरुङ(स्याङ्जा)लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। उनले नियमावली नियम ५० अनुसार जेष्ठ राजनीतिज्ञसभामा ३० नेतालाई मनोनित गरेका छन्।देउवाले सोमबार नै पार्टीको धारा ३७ (१) ग अनुसार निकट सात नेतालाई विभाग प्रमुखको जिम्मेवारी तोकेका हुन्। शनिबार आफूनिकट नेतालाई संगठन विभागसहित १३ संयोजक तोकेका सभापतिले एनपी साउदलाई शुभेच्छुक संस्था, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपद् व्यवस्थापन, ईश्वरी न्यौपाने महिला, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन, मोहनबहादुर बस्नेतलाई खेलकुद, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी र हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिएका छन्।

पौडेलसहित असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्ने बेला सभापति देउवा विभाग गठन गरेर निकट नेताहरूको व्यवस्थापनमा लागि परेको आरोप लगाएका छन्। वीरगञ्जबाट महाधिवेशन केन्द्रित प्रदेशस्तरीय भेला सुरु गरेको संस्थापन इतर समूहले सभापति देउवा विधानविपरीत अघि बढेको भन्दै विभाग गठनलाई पनि अजेन्डाका रूपमा प्रस्तुत गर्न थालेका छन्। उनीहरूले शनिबार वीरगञ्ज र आइतबार हेटौंडामा प्रदेश २ र ३ को भेला गरेका छन्। केहीदिनमा अन्य प्रदेशमा पनि निकटको भेला गर्ने उनीहरूले तयारी गरेका छन्। सभापतिको पछिल्लो कमदले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा असन्तुष्ट पक्षहरूले आशंका व्यक्त गर्न थालेका छन्।

कोरोनाविरुद्ध चुस्त व्यवस्था मिलाऊ
कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको भन्दै सम्पूर्ण नेपालीलाई सतर्कता अपनाउन अपिल गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले विश्वव्यापी रूपमै महामारीको रूप लिएको कोरोनाविरुद्ध पूर्वतयारी तीव्र बनाउन सरकारलाई आग्रह गरेको हो।

दशा बाजा बजाएर आउन्न भन्ने पूरानो भनाइ रहेको स्मरण गराउँदै कांग्रेसले भनेको छ, ‘प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रूपमै महामारीको डंका बजाइरहेको बेला नेपाल देशले सतर्कताको पर्याप्त पूर्वतयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ।’

गम्भीर विश्व परिस्थितिप्रति नेपाल सरकार, सम्बन्धित निकायहरू, सबै राजनीतिक दल, संघसंस्था, सञ्चार माध्यम तथा स्वदेश र विदेशमा रहेका नेपालीलाई समेत सर्तकता अपनाउन कांग्रेसले अपिल गरेको छ। ‘विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गरियोस्,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी १४ बुँदे अपिलमा भनिएको छ,‘संक्रमण फैलिएका मुलुकसँग नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाइयोस्।’

प्रकाशित: २० फाल्गुन २०७६ ०२:१२ मंगलबार

नेपाली_कांग्रेस शेरबहादुर_देउवा