राजनीति

राप्रपाको प्रस्ताव : संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव गरेको छ। सत्तारुढ दलले कुनै व्यक्ति र स्वार्थ समूहका लागि संविधान संशोधनको बहस गर्नुभन्दा दलिय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संशोधन गर्न प्रस्ताव राप्रपाले गरेको हो।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद राजेन्द्र लिङ्देनले तीन तहको सरकार हटाएर दुई तहको सरकार निर्माण गर्नुपर्ने, जनप्रतिनिधिहरुको संख्या घटाउनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक प्रणालीबाट संसद गठन हुने व्यवस्था गर्न संविधान संशोधन हुनुपर्ने प्रस्ताव गरे। उनले भने, 'सत्तारुढ दलले संविधान संशोधनका कुरा झिकेर ठिकै गरेको छ। व्यक्ति, परिवार र स्वार्थ समूहका लागि नभएर जनताका लागि संशोधन अगाडि बढाउन आग्रह गर्दछु।

संविधान संशोधन गर्ने नै हो भने सत्तारुढ दल र प्रतिपक्षी दलले समेत सहमति गरी ४० हजार जनप्रतिनिधि र तीन तहको संरचना हटाऔँ। संवैधानिक अंगहरुमा हुने नियुक्तिलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔँ। निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्व समानुपातिक प्रणालीबाट संसद गठन हुने व्यवस्था गरौँ। दलिय राजनीति भन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौँ।’

 

प्रकाशित: १९ फाल्गुन २०७६ १०:२१ सोमबार

राप्रपा राजतन्त्र संसद