राजनीति

बाँस्कोटा काण्डमा प्रधानमन्त्री न्यायाधीश बन्न खोजे : अध्यक्ष मिश्र

बुटवल- साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले देशको प्रधानमन्त्रीले भ्रष्टाचारका काण्डमा न्यायाधीश तथा वकिल भएर बोल्न नमिन्ने बताएका छन्। पार्टीको लुम्बिनीमा भएको तीन दिने राष्ट्रिय सम्मेलनको निर्णय शनिबार बुटवलमा सार्वजनिक गर्दै अध्यक्ष मिश्रले गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीले न्यायाधीश बन्न खोजेको बताएका हुन्। ‘बाँस्कोटा प्रकरण जस्तो ठूलो भ्रष्टाचार काण्डमा प्रधानमन्त्रीले उनी निर्दोष छन्। उनको संलग्नता छैन भनेर अभिव्यक्ति दिने होइन। प्रधानमन्त्रीले त निश्पक्ष छानबिन गर्छौ भन्नुपथ्र्यो। प्रमाण छ र छैन भनेर उहाँले बोल्ने हैन’ मिश्रले भने।

बाँस्कोटा काण्डको निश्पक्ष छानबिन हुनुपर्ने र मुद्दा चलाइनु पर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको भन्दै उनले यो काण्डको निश्पक्ष छानबिन भए लहारो तान्दा पहरो गर्जीने दाबी पनि गरे। चप्पल लगाएका र झुपडीमा बसेका नेताहरुको अहिले काठमाडौमा कसरी महल ठडीयो भन्ने प्रश्नको जवाफ यस्तै काण्डहरुले दिइरहेको टिप्पणी उनले गरे। देशमा साच्चिकै राजनीतिक सुधार गर्ने हो भने २०४६ सालपछिका उच्च पदस्त राजनीतिकर्मी, प्रशासक र कर्मचारीहरुको सम्पत्ती छानबिन हुनुपर्नेमा जोड दिए।

समान सोच भएका र देशलाई रुपान्तरण गर्न चाहाने व्यक्ति, समूह, राजनीतिक शक्ति तथा पार्टीहरुसंग सहकार्य र एकताका लागि आब्हान गरीने बताए। धर्मनिरपेक्षता र संघियताको सम्बन्धमा भने जनमत संग्रहको पक्षमा आफ्नो पार्टी रहेको बताए। तर यी विषयमा साझा पार्टी पक्ष या विपक्ष कता छ भन्ने पत्रकारहरुको प्रश्नमा भने उनले जनमत संग्रहले दिने परिणाम स्वीकार हुने जवाफ दिए।

देशव्यापी रुपमा पार्टीको संगठन निर्माण तथा विस्तार गर्ने, भ्रष्टाचारविरुद्धको अभियानलाई शसक्त पार्ने, २०७८ को जेठमा महाधिवेशन गर्ने लगायतका १४ बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै साझाको तिन दिने राष्ट्रिय भेला शनिबार सकिएको हो।
 

प्रकाशित: १७ फाल्गुन २०७६ १३:५८ शनिबार

बाँस्कोटा_काण्ड प्रधानमन्त्री