राजनीति

जनतालाई सम्बृद्धिसँग जोड्न चाहान्छौँ : मन्त्री लम्साल

मिर्लुङ्गकोट पर्यटन महोत्सवलाई सम्बोधन गर्दै मन्त्री बिकास लम्साल । तस्बिर : नागरिक

दुलेगौँडा(तनहुँ)- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले जनतालाई सम्बृद्धीसँग जोड्न चाहेको बताएका छन्। उनले भने, ‘पौरखी हातलाई सरकारको सधै सहयोग रहन्छ।’

पर्यटन, कृषि र उर्जा गण्डकी प्रदेश सरकारको सम्बृद्धिका प्रमुख आधार रहेको उनको भनाई छ। तनहुँको भानु नगरपालिका–१३ मिर्लुङकोटमा रानीपोखरीमा आयोजना गरिएको पाँचौ मिर्लुङ्गकोट पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनको राजधानी भएको दाबी गरे। उनले भने, ‘ग्रामिण पर्यटनका साथै संस्कार, संस्कृति, प्रकृती र जैविकताको दृष्टीले गण्डकी अब्बल छ। यहाँका सबै पर्यटकीय गन्तव्यलाई विकास गर्दै जनतालाई आर्थिक सम्बृद्धिको बाटोमा अगाडि बढाउने योजना बनाएका छौँ।’

उनले गण्डकी प्रदेश सरकार विवादरहित रहेको समेत जिकिर गरे। संघीयता कार्यान्वयनसँगै आलोचना, विवादमा नपरी प्रदेश सरकार स्वच्छ ढंगले हुर्किएको मन्त्री लम्सालको भनाई छ। प्रदेश सरकारले परिणाममुखी काम  गरेको उनले बताए।  

प्रदेश सभा सदस्य रामबहादुर गुरुङले मिर्लुङ्गकोट ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण रहेको चर्चा गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याए।

मिर्लुङ्गकोट तनहुँका उत्कृष्ट १० पर्यटकीय गन्तव्य मध्येको एक हो। प्रदेश सरकारले यहाँको भौतिक पूर्वाधार विकासका लागि चालु वर्षमा ४० लाख रकम विनियोजन गरेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन आयोजित मिर्लुङकोट महोत्सव आगामी मंगलबारसम्म जारी रहनेछ।

प्याराग्लाइडिङ, कृषी तथा जडीबुटीको प्रदर्शनी, साँस्कृति ग्रामको भ्रमण, पर्यटन विकासका लागि अन्तरक्रिया, साँस्कृतिक झाँकी, स्थानीय खानाका परिकार, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती महोत्सवको प्रमुख आकर्षण रहेको आयोजक मिर्लुङ्गकोट पर्यटन सूचना केन्द्रले जनाएको छ।
 

 

प्रकाशित: १७ फाल्गुन २०७६ १२:५० शनिबार

जनता सम्बृद्धि