राजनीति

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गरेका छन्। अर्थमन्त्रीसमेत रहेका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पुर्‍याउनुपर्नेमा जोड दिए।

उनले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन सरकार र आमसञ्चार माध्यमबीचको सहकार्यको आवश्यकता औँल्याए। मन्त्री डा. खतिवडाले भने, 'सञ्चार सम्बन्धि केही विधेयक निर्माण प्रक्रियामै छन्, त्यसलाई छलफल गरेर मात्र ल्याइनेछ, सङ्घीयताको पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रलाई बलियो बनाउन पनि सरकार र सञ्चारमाध्यमबीच सहकार्य हुन आवश्यक छ।' उनले आम नागरिकप्रति मर्यादित र उत्तरदायी हुँदै सत्यतथ्य समाचार मात्र प्रकाशन÷प्रसारण गर्न पनि सञ्चारमाध्यमलाई अपिल गरे।

'सुसूचित हुन पाउने जनताको अधिकारलाई सुनिश्चित राख्नुपर्छ र त्यसलाई प्रवद्र्धन गर्नुपर्ने सञ्चारमाध्यमको भूमिका हुन्छ। समृद्धिका लागि नागरिक उत्पादक हुनुपर्छ। उत्पादक र सबलीकृत नागरिक बनाउन प्रविधिमा पहुँच महत्वपूर्ण हुन्छ, सूचना प्रविधिका माध्यमबाट राज्यका अङ्गलाई पारदर्शी बनाउनुपर्ने हुन्छ', उनले भने। मुलुकमा व्याप्त गरिवीको अन्त्य गर्दै समृद्धि र समतामूलक समाज निर्माण गर्नु सरकारको मुख्य विषय भएको उनको भनाइ छ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएसँगै विवादमा परेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए। मन्त्री बाँस्कोटाले राजीनामा दिएपछि सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री डा. खतिवडालाई सञ्चार मन्त्रालयको समेत कार्यभार तोकेका थिए।
 

प्रकाशित: ११ फाल्गुन २०७६ ०८:५७ आइतबार

सकारात्मक_सन्देश प्रवाह