राजनीति

‘पार्टी मिल्यो, भावना मिलेन’

वीरेन्द्रनगर - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशस्तरीय बृहत् अगुवा कार्यकर्ता भेलामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ट नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेललगायतका नेता लहैर मञ्चमा थिए। नेकपामा देखिएको गुटलाई नेतृत्व गर्ने नेता सहभागी उक्त कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले सांगठनिकरूपमा पार्टी एकता भए पनि भावनात्मक एकता नभएको बताइरहँदा सहभागी प्रमुख अतिथि र विशेष अतिथिको मुहार फेरियो। स्वभाव र शैली फरक फरक हुँदा कार्यकर्ताले व्यवहारमा भावनात्मक एकता दर्शाउन नसकेको उनको भनाइ छ।

उनी मात्र होइन, प्रदेशस्तरीय पार्टी प्रशिक्षणमा सहभागी नेता तथा कार्यकर्ताले सांगठनिक एकतासँगै भावनात्मक एकतामा जोड दिनु पर्ने बताए। ‘हिजो दुई पार्टीबीच ठूलो दरार थियो,’ दैलेखकी सांसद पार्वतीकुमारी विशुन्केले नागरिकसँग भनिन्, ‘त्यो ठूलो दरार बिस्तारै परिवर्तन हुन्छ।’ केन्द्रमा देखिने गुटले पनि तल्लोस्तरमा प्रभाव पारेको उनले बताइन्। नीतिगतरूपमा भावनात्मक एकता हुन आवश्यक भएको उनको भनाइ छ। हुम्लामा बाध्यताले वडास्तरसम्म कमिटी गठन भए पनि भावनात्मकरूपले एकता हुन नसकेको हुम्लाकी सौमती रावल ऐडीले बताइन्। ‘मन्त्रालयबाट जाने बजेट आफ्ना मान्छे हेरेर जिल्लामा जान्छन्,’ उनले भनिन्, ‘यसरी कसरी भावनात्मक एकता हुन सक्छ ?’

पार्टी मात्रै एकता हुनु ठूलो नभएको भन्दै उनीहरूले भावनात्मक एकता ठूलो भएको बताए। केन्द्रमा देखिने गुटको प्रभाव तल्लो तहसम्म फैलिँदा पनि भावनात्मक एकता हुन समस्या पु-याएको नेकपाका कार्यकर्ताहरूको भनाइ छ। पार्टी एकता भए पनि भावनात्मक एकता नहुनु र गुटगत राजनीतिको प्रभावले सल्यानको कुमाख र दार्मा गाउँपालिकासँगै शारदा र बागचौर नगरपालिकामा संगठन निर्माण हुन नसकेको सल्यानका खड्क आचार्यले बताए। राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले विकास निर्माण र सांगठनिक कामकाजमा समस्या हुँदै आएको जनाए।

भिन्नभिन्नै समूहबाट आएकाले पनि तत्काल अन्तरघुलन हुन समस्या भएको जाजरकोटका जिल्ला सचिवालय सदस्य नेवेन्द्र नेपालीले जनाए। ‘पार्टीमा सिद्धान्तभन्दा व्यक्ति हाबी हुँदा गुट जन्मिन्छ,’ उनले भने, ‘त्यसपछि भावनात्मक सम्बन्ध हराउँछ।’ ‘व्यक्तिभन्दा पार्टी ठूलो सोंच राखेमा भावनात्मक एकता बढ्दै जान्छ,’ उनले भने। पार्टी एकता भए पनि भावनात्मक एकता हुन बाँकी भएको भन्दै कालीकोटकी विजया विष्टले भनिन्, ‘भावनात्मक एकता कायम नभए पार्टी कमजोर हुँदै जान्छ।’ पार्टीभित्र मौलाउँदै गएको गुटउपगुटको अन्त्य गर्नुपर्ने उनको भनाइ छ। अहिले पार्टी ठूलो भए पनि भावनात्मक एकता कायम नभए अहिलेकै अवस्थामा पार्टी बलियो हुन नसक्ने नेकपाका कार्यकर्ताहरूको भनाइ छ। तत्कालीन एमाले र माओवादीले जितेका स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघका सांसदहरूले पूर्व पार्टी कार्यकर्ता हेरेर विकासका योजना दिने गरेको उनीहरूको आरोप छ।

तत्कालीन दुई पार्टी मात्र होइन तत्कालीन एमालेभित्र पनि गुटको प्रभाव भएकाले सबै गुटको अन्त्य हुनुपर्ने प्रशिक्षण कार्यक्रमका सहभागीहरूको भनाइ छ। उक्त प्रशिक्षण कार्यक्रममा १० जिल्लाका जिल्ला अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गरेका छन्। मंगलबार प्रतिवेदन प्रस्तुत गर्ने जिल्ला अध्यक्षहरूले पनि भावनात्मक एकता नहुँदा राजनीतिक गतिविधि सञ्चालनमा समस्या भएको बताए। २०७६ हसार ११ गते सम्पन्न जुम्लाको जिल्ला समितिको पहिलो बैठकले तल्ला कमिटीहरू यथाशिघ्र गठन गरी एकता प्रक्रिया टुंग्याउने निर्णय गरेको थियो। सात महिना बितिसक्दा पनि उक्त प्रक्रिया सम्पन्न हुन सकेको छैन। आठ स्थानीय तहमध्ये चार/चारवटा भागबण्डा गर्ने निर्णय भएको थियो।

यहाँ तत्कालीन माओवादीले अध्यक्ष सचिवको टुंगो लगाए पनि एमालेले लगाउन सकेको छैन। यहाँ पार्टीभित्रको आन्तरिक गुटको प्रभावले समस्या पारेको बताइएको छ। पार्टीभित्र भावनात्मक एकता नहुँदा एकता प्रक्रिया निष्कर्षमा पुग्न नसकेको हो। जसका कारण जिल्लाका तल्ला समिति बन्न सकेका छैनन्। भावनात्मक एकता नहुँदा एकता प्रक्रियालाई तलसम्म लैजाने, संगठन विस्तार गर्ने कार्यमा पनि अविलम्ब भएको नेकपाका कार्यकर्ताहरूले बताएका छन्। अहिले पनि दुई पार्टीका नेता कार्यकर्ताबीच अन्तरघुलन नहुँदा उत्साह कार्यकर्ता, शुभेच्छुक र समुदायमा निराशा र अन्योलता पैदा गरेको जिल्ला अध्यक्षहरूले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। जसले विपक्षी शक्तिलाई थोरै भए पनि प्रेरित गरेको जिल्ला अध्यक्षहरूको भनाइ छ।

पार्टी र जनप्रतिनिधिबीच दुरी
जिल्ला अध्यक्षहरूले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी र जनप्रतिनिधिबीच पनि दुरी रहेको उल्लेख छ। ‘सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउनु पर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो कम्युनिस्ट पार्टीको मान्यता हो।’ जनप्रतिनिधिको कार्यले पार्टीको भविष्यमा सकारात्मक र नकारात्मक असर पार्ने भन्दै जिल्ला अध्यक्षहरूले जनप्रतिनिधि र पार्टीबीचको दुरी हट्नु पर्ने बताएका छन्। ‘पार्टीले टिकट दिएर कायकर्ताको अथक मेहेनत र जनताको मायाबाट विजय हाँसिल भएको हो,’ प्रतिवेदन उदृढ गर्दै एकजना प्रदेश कमिटी सदस्यले भने, ‘यस खालका महत्वपूर्ण पार्टी र संगठनका जीवनका कुरा बुझ्न आवश्यक छ।’ पार्टी स्थापित गर्नुपर्छ, कैयन दशक मेरो कार्य सम्पादनका कारण पार्टीलाई जिताउनु पर्छ। संगठन विस्तार गर्नुपर्छ। म पार्टीको सिपाही हुँ र मलाई यो मोर्चाको जिम्मेवारी दिएको छ भन्ने बुझाइ सबैमा हुन जरुरी रहेको प्रतिवेदनमा उल्लेख भएको उनको भनाइ छ।

‘निर्वाचित जनप्रतिनिधि आफँै भएको पार्टी र कार्यकर्ताको कुनै वास्ता छैन,’ प्रतिवेदनलाई उदृढ गर्दै अर्का नेकपाका कार्यकर्ताले भने, ‘जनप्रतिनिधि पार्टीको निगरानी र नियन्त्रण बाहिर छन्। यसले पार्टी र संगठनलाई ठूलो क्षति पु-याउँछ।’

प्रकाशित: १० फाल्गुन २०७६ १०:३७ शनिबार

नेकपा प्रदेशस्तरीय_भेला पुष्पकमल_दाहाल माधवकुमार_नेपाल