राजनीति

निष्पक्ष छानबिनको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका राजनीतिक दलले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकम अनियमितताको हुन लागेका विवरण सार्वजनिक भइरहेका बेला सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक हुनुले त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको उनीहरूको दाबी छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सञ्चारमन्त्री अडियो प्रकरणमा सरकार र प्रधानमन्त्री सार्वजनीक रूपमा जवाफसमेत माग गरेको छ। सञ्चारमन्त्रीबाट बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार प्रेस विज्ञप्ति र पत्रकार सम्मेलन गर्दै त्यसको निस्पक्ष छानबिन गर्न समेत सरकारसँग माग गरेको छ। ‘मन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान गर्ने निकायलाई सहयोग गर्नु मन्त्रीको मात्र होइन अनुसन्धान गर्ने निकायलाई यसका लागि सहयोग गर्ने र प्रेरित गर्ने दायित्व सम्माननीय प्रधानमन्त्री को हो,’ शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा भने।

भ्रष्टाचारको कुनै पनि मुद्दामा राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठ्न सरकारलाई सुझाउँदै कांग्रेसले निर्दोष दण्डित हुने र दोषीले उन्मुक्ति पाउने नहुने जनाएको छ। ‘प्रतिशोधको कुनैप नि मनोविज्ञान नराखी तथ्यपूर्ण ढंगबाट अनुसन्धान गरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता कांग्रेसले विगतदेखि नै राख्दै आएको छ,’ उनले भने, ‘यसमा पनि हामी त्यही नै दोहो-याउन चाहन्छाैं।’

प्रधानमन्त्रीको कार्यक्षत्र मन्त्रीलाई बर्खास्त गर्नेसम्म भएको जनाउँदै प्रवक्ता शर्माले यस घटनाको नेपथ्यका कुरा खोजबिन र अनुसन्धानमा प्रधानमन्त्रीसहित सबैले सहयोग गर्नुपर्ने बताए। ‘वाइड बडीको छानबिनमा शाही आयोग गठन गरेजस्तो सरकारले कुनै निकाय गठन गर्ने अनि त्यो विस्तारै अर्थहीन हुने खालको कुरामा हामी विश्वास गर्दैनाैं,’ उनले भने , ‘त्यो खालको अपिल पनि हाम्रो होइन।’

सञ्चारमन्त्रीको अभिव्यक्ति व्यक्तिगत हो कि त्यसका पछिल्लतिर संस्थागत संलग्नता थियो भन्ने प्रश्न गर्दै शर्माले भने, ‘सरकारले यो विषयलाई कुनै पनि दबाबबाट मुक्त रहेर निष्पक्ष ढंगको अनुसन्धान गरी तथ्य बाहिर आउनुपर्छ।’

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद विषय संसदको लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने काम भएको भन्दै आफ्नो दलले यस्तै हुनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे। ‘यी सबै कुराको सन्दर्भमा सम्बन्धित निकायले गर्ने अनुसन्धानमा सबै (सत्तापक्ष र प्रतिपक्षी) ले सहयोग गर्नुपर्छ।’ व्यक्तिगत सम्बन्धका आधारमा सञ्चारमन्त्रीले प्रधानमन्त्री ओलीको घर प्रयोग गरेको जनाउँदै शर्माले भने, ‘त्यसलाई पनि गाँसेर हामी टिप्पणी गर्दैनौं।’

मुलुकको स्थायी सरकार निजामति कर्मचारीविरुद्ध बाँस्कोटाको अभिव्यक्ति अस्वभनिय र आपत्तिजनक भएको कांग्रेसले टिप्पणी गरेको छ। त्यस्तै, राप्रपा(संयुक्त) ले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन बापत ७० करोड लेनदेन गर्न तय गरेको भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरेर दोषी माथि कारबाही गर्न माग गरेको छ।

साझा पार्टीले पनि मन्त्री बाँस्कोटामाथि निष्पक्ष छानबिन गर्न माग गरेको छ। ‘भ्रष्टाचारीहरू समाजका धमिरा हुन्,’ प्रवक्ता सूर्यराज आर्चायद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तिनीहरूको हालिमुहाली रहने वातावरण कायम भएसम्म जस्तोसुकै व्यवस्था भए पनि देशले प्रगति गर्न सक्दैन।’

बाँस्कोटाले सञ्चारमन्त्रीबाट बिहीबार दिउँसो नै राजीनामा गरेका छन्। तर त्यसअघि कांग्रेसका भ्रातृ संगठनहरूले उनको राजीनामा माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेका थिए।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:५६ शुक्रबार

सेक्युरिटी_प्रेस खरिद छानबिन