राजनीति

बोगटीको अभाव खड्किरहेको छ: दाहाल

नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वर्गीय पोष्टबहादुर बोगटीको अभाव सिंगो पार्टीलाईभन्दा बढी आफ्नो व्यक्तिगत जीवनमा खड्किएको बताएका छन्। नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेमा अवस्थित चण्डेश्वरी माध्यामिक विद्यालयको ६१औँ अभिभावक भेला तथा स्वर्गीय पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा सहभागी भएका उनले बोगटीसँग गरिएका यात्रा सम्झिएका थिए। वरिष्ठ नेताहरू पनि बोगटीको अगाडि सतर्क हुनुपर्ने र उनले बोलेपछि त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने बाध्यता हुन्थ्यो भन्दै उनले उनीसँग चारित्रिक र नैतिक बल रहेको स्मरण गरे।

‘विसं २०३६ सालबाट लगातार देशमा राजनीतिक उतारचढाव भयो। पञ्चायत र राजतन्त्रविरुद्ध आन्दोलन भए। जनयुद्ध, जनआन्दोलन भए। पार्टीहरू विभाजित पनि भए एकतामा पनि आए। तर मेरो जीवनमा पोष्टबहादुर यस्तो खम्बा भएर उभिनुभयो कि, मेरो नेतृत्व र विचारप्रति कहिल्यै शंका गर्नुभएन। जतिसुकै अप्ठ्यारो दिनमा पनि मेरो परिवार, नेतृत्व र मैले प्रस्तुत गर्ने विचारप्रति उहाँ बढो दृढतापूर्वक उभिनुहुन्थ्यो। उहाँसँग आँखा जुधाएर हेर्ने सामथ्र्य अरुसँग हुँदैनथ्यो। उहाँले एकपटक टेवल ठोके पछि कसैको केही लाग्दैनथ्यो,’ बोगटीलाई सम्झदै दाहालले भने, ‘मेरो एकातिर डाक्टर बाबुराम भट्टराई थिए अर्कोतिर मोहन वैद्य किरण। उनीहरूको दातबाट पसिना आउने गरी आफ्नो कुरा राख्नु हुनथ्यो बोगटी। जसले गर्दा गर्दा बोगटी भए पछि जस्तो सुकै समस्या आए पनि समाधान गर्न सक्छु भन्ने विश्वास बढेर आउथ्यो।’

धादिङको गल्छिदेखि रसुवागढी सम्मको सडक खण्डलाई पोष्टबहादुर बोगटी राजमार्ग नामकरणको पहल भइरहेको भन्दै दाहालले रसुवागढीदेखि ठोरीसम्मको त्रिदेशीय राजमार्गमा कहिन कतै बोगटीले देशप्रति पु-याएको योगदान र स्मृति झल्काउनतर्फ प्रयासरत रहेको बताए।

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण जिल्लाको रूपमा घोषणा गर्ने बताएका छन्। ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई दृष्टिगत गरी ससरकार अघि बढिरहेको छ। चालु आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण जिल्लाको रूपमा घोषणा गर्छौ भने अबको २ वर्षभित्रमा पूर्ण विद्युतीकरण देश निर्माणमा लाग्नेछौं,’ मन्त्री पुनले भने।

सोमबार नुवाकोट आएका दाहाल र मन्त्री पुनले किस्पाङ गाँउपालिका– ३ काहुलेमा रहेको ऐसेलुभुमे माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनसमेत गरेका थिए।

प्रकाशित: २८ माघ २०७६ ०२:२९ मंगलबार

पुष्पकमल_दाहाल स्वर्गीय_पोष्टबहादुर_बोगटी