राजनीति

हामी एउटा सामन्तीवादी युगबाट अर्को एउटा समाजवादको युगतिर जाने प्रक्रियामा छौँः प्रचण्ड

फाइल तस्बिर/नागरिक

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समाजवादको युगतर्फ अगाडि बढेको भए पनि सबैको भाव र चाहानाहरु समेट्न नसकिएको स्वीकार गरेका छन्। काठमाडौंमा भएको एफएलएफ अवार्ड कार्यक्रममा सम्बोधन गर्दै दाहालले नयाँ व्यवस्था ल्याउन सबै जातजाति, भाषाभाषी र संस्कृतिका समूदायको योगदान बराबर भए पनि अझै सबैको भाव र चाहाना समेट्न नसकिएको स्वीकार गरे।

देश संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा भए पनि संविधानमा अझै समानता, समावेशीताका कुराहरु पुरा हुन नसकेको उल्लेख गर्दै दाहालले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा हामी छौँ। यो संघीय लोकतान्त्रिक गणतन्त्रमा धर्म निरपेक्षता, समावेशीता, समानुपातिकताको जुन स्तरमा हामी आइपुगेका छौँ। यद्यपि सबैको भावहरु सबैका चाहानाहरु त्यसमा समेटी सके, पूर्ण भइसक्यो भन्ने दाबी हाम्रो छैन्। हाम्रो संविधानले पनि यसको परिमार्जनको यसको विकासको आवश्यकता स्वीकार गरेको छ। तर पनि फेरि एउटा सामन्तीवादी युगबाट अर्को एउटा समाजवादको युगतिर जाने प्रकृयामा हामी छौँ।’’

अध्यक्ष दाहालले देशमा राजनीतिक परिवर्तन ल्याउन सबै जातजाति, भाषाभाषी, सांस्कृतिक समूदायको उत्तिकै योगदान हुनु खुसी र गौरबको कुरा भएको बताए। विश्वमा अहिलेसम्म सगरमाथाको देश, वुद्ध जन्मेको देश भनेर चिनिने गरेकोमा अब विकास र समृद्धि, समाजवाद र सामाजिक न्यायको यात्रामा पनि नेपाललाई उचो ठाउँमा पु¥याउन सम्भव रहेको बताए।

प्रकाशित: २७ माघ २०७६ १३:२९ सोमबार

सामन्तीवादी समाजवाद पुष्पकमल_दाहाल