राजनीति

कांग्रेस बैठक आज

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाएको बैठकमा पार्टीको नियमावलीका साथै क्रियाशील सदस्यता छानविन समिति गठनका विषयमा छलफल हुनेछ।

त्यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा दायर मुद्दाका विषयमा पनि छलफल हुनेछ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलविरुद्ध मुद्दा दायर नगरेर अख्तियारले पूर्वाग्रह राखेको भन्दै कांग्रेसले सडक र सदन अवरुद्ध गर्दै आएको छ। त्यस विषयमा पनि सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ। बैठकले आगामी रणनीति तय गर्ने नेताले जनाएका छन्।

यसैबीच, पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको अगुवाइमा आइतबार पनि काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका छन्। तरुण दलको अगुवाइमा कांग्रेसका भ्रातृ संगठनहरूले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा अख्तियार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लागाउँदै सहभागीले ‘दुईतिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो। विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन। ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार’सहितका नारा लगाइएका थियो। शुक्रबार नेपाल विद्यार्थी संघको अगुवाइमा विरोध प्रर्दशन गरेको थियो।

प्रकाशित: २७ माघ २०७६ ०२:५७ सोमबार

नेपाली_कांग्रेस केन्द्रीय_समिति बैठक