राजनीति

सगरमाथा संवाद: जलवायु परिवर्तनबारे नेपालले नेतृत्व गर्न सुझाव

काठमाडौं – नेपालले जलवायु परिवर्तन, न्यूनीकरण र अनुकूलनका क्षेत्रमा गरेका राम्रा कामलाई विश्व समुदायसमक्ष प्रस्तुतिसहित सो विषयको नेतृत्व गर्नुपर्ने जलवायु तथा वातावरण क्षेत्रका विशेषज्ञहरूको सुझाव छ। चैत तेस्रो साता हुने सगरमाथा संवाद नामक अन्तर्राष्ट्रियस्तरको कार्यक्रमको पूर्वतयारीका लागि आइतबार गरिएको अन्तक्र्रिया कार्यक्रममा सहभागी उनीहरूले त्यस्तो सुझाव दिएका हुन्।

कार्यक्रममा सहभागी विज्ञहरूले पछिल्ला अध्ययनहरूले जलवायु परिवर्तनका कारण पहाडी तथा उच्चहिमाली क्षेत्रमा नकारात्मक प्रभाव परेको देखिएकाले यसतर्फ विश्व समुदायको ध्यान जानुपर्ने र सबै सरोकारवालाहरूको सहकार्यले जलवायु परिवर्तनले ल्याएका परिवर्तनलाई सम्बोधन गर्न सकिने बताए।

सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि, जलवायु तथा वातावरण क्षेत्रका विशेषज्ञलगायतको उपस्थिति रहेको सो अन्तक्र्रिया कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले गरेका थिए।

सगरमाथा संवादको पहिलो शृृंखलामा जलवायु परिवर्तन, पहाड र मानवताको भविष्यलाई प्रमुख विषय बनाइएको छ। यो फोरममा विश्वका विभिन्न देशका राष्ट्रप्रमुख, प्राज्ञ, व्यापारिक नेता, अन्तर्राष्ट्रिय नागरिक समाजका अभियन्ता, विभिन्न संघ–संस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।

जलवायु परिवर्तनको विषयलाई सम्बोधन गर्न बहुसरोकारवालाहरूको भेला गराएर जलवायु परिवर्तनमा थप लगानी र सहकार्यको विकास गर्ने लक्ष्य सगरमाथा संवादले लिएको छ।

प्रकाशित: २७ माघ २०७६ ०१:४७ सोमबार

सगरमाथा_संवाद जलवायु_परिवर्तन