राजनीति

'आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ’

काठमाडौं - ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन्।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियार टंगाल बस्नु जरुरी नभएको भन्दै बालुवाटरबाटै चलाउन आग्रह गरे। कानून धनी गरिब सबैलाई बराबर हुने भएपनि त्यसो हुन नसकेको भन्दै उनले ‘अख्तियारलाई बालुवाटारमा राखेर भातृ संगठन जस्तो बनाए हुन्छ’, उनले भने। आफूहरु विजय कुमार गच्छदारलाई बचाउन नआएको उल्लेख गर्दै उनले भने, ‘मन्त्री परिषद्मा निर्णय गर्ने कसले ? माधव नेपाललाई कारवाही गर्नुप-यो। निर्णय गर्ने माधव नेपाल कारवाही भोग्ने विजय गच्छदार ? मुख्य सचिवलाई कारवाही किन नहुने ? जग्गाको लालपूर्जा लिने विष्णु पौडेल र उनका छोरालाई कारवाही नहुने ?’

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले जनतामा देखिएको निराशा चिर्नुको सट्टा प्रधानमन्त्री सरकारी सम्पत्ति व्यापारिक घरानालाई कौडीको मुल्यमा दिने निर्णय गर्दै गएको बताए। अख्तियारलाई संवैधानिक अंगको रुपमा रहेर काम गर्न सुझाव दिदै उनले बालुटारको भातृ संगठन बन्न खोजे आन्दोलनको आँधिले बगाउने चेतावनी समेत दिए। उनले भने, ‘अख्तियार भनेको संवैधानिक निकाय हो। यदि संवैधानिक निकायले आफ्नो संवैधानिक हैसियता पुरा गर्दैन भने। अख्तियार बालुवाटारको भातृ संस्थाका रुपमा अगाडि बढ्न खोज्यो भने। अब आन्दोलनको आँधि सुरु भइसकेको छ। आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ।’

प्रदर्शनमा ‘बालुवाटार जग्गा प्रकरण आफ्नालाई जोगाउने अरुलाई फसाउने, तिलकुमारीलाई जेल विष्णु पौडेललाई माफी, क्याबिनेटको निर्णयमा मन्त्री जवादेही हुन्छ की प्रधानमन्त्री’, लगायतका प्लेकार्डहरु आन्दोलनकारीहरुले बोकेका थिए। आइतबार पनि तरुण दलको संयोजकत्वमा माइतीघरमा प्रदर्शन हुने बताइएको छ। नेपाली कांग्रेसले पनि अख्तियारको निर्णय भेदभावपूर्ण भएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो।

प्रकाशित: २४ माघ २०७६ ११:०८ शुक्रबार

नेपाली_कांग्रेस विरोध_प्रदर्शन ललिता_निवास विजय_गच्छदार