राजनीति

राष्ट्रिय सभामा कांग्रेसको प्रश्नः ‘प्रधानमन्त्री निर्दोष हुने, मन्त्री दोषी?’

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयको निष्पक्षता प्रति प्रतिपक्षी दलले प्रश्न उठाएको छ। बिहीबारको राष्ट्रियसभा बैठकमा कांग्रेस सांसद बद्री पाण्डेले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले गरेको निर्णय भेदभावपूर्ण भएको आरोप लगाएका छन्।

मन्त्रिपरिषद् निर्णय गर्नुभन्दा पहिले एजेण्डा तय गर्ने काम प्रधानमन्त्रीले गर्ने, प्रधानमन्त्रीकै अध्यक्षताम बैठक बसेर निर्णय हुने तर प्रधानमन्त्री निर्दोष हुने मन्त्री दोषी हुने भन्दै उनले प्रश्न समेत गरे। उनले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेकपाका महासचिव विष्णु पौडेलविरुद्ध मुद्दा दायर गर्न नसक्नु सत्तापक्षका नेतालाई जोगाउने र विपक्षी दलका नेतालाई फसाउने रणनीति सरकारले लिएको आरोप समेत लगाएका छन्।

संवैधानिक आयोगहरुले विवादीत र एकपक्षीय निर्णय गर्नुको अर्थ के हुन्छ भन्दै उनले प्रश्न गरेका छन्। 'आयोगलाई के बाध्यता पर्‍यो? २ तिहाइको सत्ताको स्वेच्छाचारी र निरंकुश छाया त आयागमाथि परेको होइन? नियुक्ति गर्ने संवैधानिक परिषद र महाअभियोग लगाउन सक्ने संसदमा नेकपाको लगभग २ तिहाइ छ। खबरदार भन्ने नेकपाको धम्कीले त काम गरेको होइन?’, उनले प्रश्न गरे।

नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो अपराध स्वीकार गरिसकेको दावी उनले गरे। शक्तिको आडमा प्राप्त गरेको जग्गा फिर्ता गर्छु भनेर भन्नु नै अपराध स्वीकार गरेको उनको भनाई छ। 'प्राइम लोकेशनमा रहेको प्राइम घडेरी नेकपा महासचिव विष्णु पौडेलले शक्तिको दुरुपयोग गरी प्राप्त गरेको जग्गा फिर्ता गरिदिन्छु भन्दैमा अख्तियारको निर्णय कस्तो अविवेकी? जग्गा फिर्ता दिन्छु भन्नु अपराधको स्वीकारोक्ति होइन्?’, उनले भने।  

आयोगले निष्पक्ष गर्ने छानबिनमा आफ्नो सधै साथ रहने तर न्यायाधीकारीले काखा र पाखा गर्नेगरी गरेको निर्णयप्रति समर्गन जनाउन नसकिने उनले बताए। बुधबार अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित तीन जना पूर्व मन्त्री गरी १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। तर नेकपा महासचिव पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा सरकारको नाममा फिर्ता गर्ने बताएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छैन।

प्रकाशित: २३ माघ २०७६ ०८:२३ बिहीबार

ललिता_निवास_जग्गा_प्रकरण राष्ट्रिय_सभा