राजनीति

सिआईबीले पनि मुद्दा दायर गर्ने

ललिता निवास। फाइल तस्बिर

काठमाडौं – ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गरेसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि त्यसमा मुछिएकाविरुद्ध मुद्दा दायर गर्ने भएको छ। एक वर्ष लगाएर प्रतिवेदन तयार पारेको सिआइबीले मुलुकी ऐनको किर्ते र ठगीसम्बन्धी कसुरअनुसार नयाँ मुद्दा दर्ता गर्ने तयारी थालेको हो।

‘दिइएको जिम्मेवारीमा हामी चुक्दैनौं। अहिलेसम्म निष्पक्ष नै भएको छ। दबाबरहित तरिकाले अरू कारबाही अघि बढाउँछौं,’ सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले भने। उनका अनुसार सम्बन्धित पक्षले छिटो जाहेरी दिए कारबाही प्रक्रिया छिटो अघि बढ्नेछ। ‘सम्बन्धित पक्ष आए भने छिटो कारबाही हुन्छ तर हामी पनि यस सम्बन्धमा सबैको ध्यानाकर्षण गराउँछौं,’ उनले भने। प्रवक्ता पाण्डेका अनुसार सिआईबीलाई २०७५ फागुन २८ मा अनुसन्धानका लागि जिम्मेवारी दिइएको थियो। अनुसन्धानमा समय अपुग भएको भन्दै दुईपटक म्यादसमेत थप गरिएको थियो। अनुसन्धान सकिएपछि ब्युरोले माघ १६ गते गृह मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो। त्यसबीचमा गृहका अधिकारीले प्रतिवेदन अध्ययन गरेका थिए। सिआइबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै तरिकाले अनुसन्धान प्रक्रिया अघि बढाएका थिए।

आयोगले बुधबार एक सय ७५ जनाविरुद्ध भ्रष्टचार निवारण ऐन, २०१७ अनुसार मुद्दा दर्ता गराएको छ। सिआइबीको अनुसन्धानअनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, डा. बाबुराम भट्टराईलगायतलाई प्रतिवादी बनाउने÷नबनाउने भन्ने विषयमा टुंगो लागेको छैन। यस विषयमा भित्री छलफल भइरहेको जनाइएको छ। यता आयोगले मुद्दा दायर गरिसकेकाले सिआइबीले पनि आफ्नै तरिकाले मुद्दा दर्ताको तयारी गरेको छ। सिआइबीले कति जनाविरुद्ध मुद्दा दायर गर्ने भन्नेबारे खुलाएको छैन। अनुसन्धानका क्रममा ठूलो संख्या देखिएको जनाइएको छ।

प्रकाशित: २३ माघ २०७६ ०१:४५ बिहीबार

सिआईबी ललिता_निवास मुद्दा_दायर