राजनीति

शहिदका बलिदानी खेर जादैन : उपेन्द्र यादव

तस्बिर : मिथिलेश/नागरिक

लहान- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शहिदका सपना पूरा गराउन संघर्षरत रहेको बताएका छन्। शहिदका सपना अझै पूरा भएको छैन, हामी संघर्षरत छौं, उनले भने। १३ औं मधेस बलिदानी दिवका अवसरमा लहानस्थित शहिद पार्कमा सहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै अध्यक्ष यादवले प्रतिबद्धता जनाए, ‘शहिदका बलिदानी खेर जादैन।’ शहिदहरुले देखेका सपना पूरा गराउन जस्तोसुकै संघर्ष गर्न तयार रहेको उनले बताए।

शहिदहरुकै बलिदानीको बदौलत देशमा संघीयता संस्थागत भएको जिकिर गर्दै यादवले भने, ‘समावेशीतासहित पहिचानका थप अधिकारका लागि संघर्ष जरुरी छ।’ संघर्षबाटै संघीयता प्राप्त भयो उनले थपे, ‘संघर्षबाट शहिदहरुले देखेका सपना पूरा गर्छौ।’

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका समाजवादी पार्टीका प्रदेश २ अध्यक्ष बिजयकुमार यादवले भने,‘सरकार, सदन र सडक संघर्षबाट शहिदका थप सपना पूरा गराएरै छाड्छौं।’ राष्ट्रिय जनता पार्टीका सहमहासचिव सुरेशकुमार मण्डल, समाजवादी पार्टीका महासचिव रामसहाय प्रसाद यादवलायतले शहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै शहिदहरुको बलिदानीको चर्चा गरेका थिए।

लहान मधेस आन्दोलनको उद्गम स्थल हो। ०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानको विरोधमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालले आह्वान गरेको आन्दोलनको क्रममा माघ ५ गते रमेश महतो मारिएपछि आन्दोलनले विद्रोहको रुप लिएको थियो। लहानबाट फैलिएको विद्रोह मधेसभरी फैलिएको थियो। लहानमा मात्र रमेश महतोसहित ५ जनाले ज्यान गुमाएका थिए।

त्यसपछि माघ ५ गतेलाई मधेस केन्द्रीत दलहरुले मधेस बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन्। यसपालि प्रदेश सरकारले औपचारिक रुपमा १३ औं बलिदानी दिवस विरगञ्जमा आयोजना गरेको छ।

सिरहाको मझौरामा जनमत पार्टीले पनि मधेस बलिदानी दिवस आयोजना गरेको छ। कार्यक्रमलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले सम्बोधन गरेका थिए। कार्यक्रममा शहिद रमेश महतोका पिता रबी महतो र शहिद प्रमोद सदायका पिता बालेश्वरलाई दोसला ओढाएर सम्मान गरिएको छ।

प्रकाशित: ५ माघ २०७६ १३:५० आइतबार

शहिद बलिदानी_खेर