राजनीति

नाम र राजधानीबारेको छलफल सकियो, सत्ता र प्रतिपक्षी एकै ठाउँमा

काठमाडौं - प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेशको राजधानी र नामबारे अध्ययन गर्न गठित सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि २३ पुसबाट छलफल शुरू भएको थियो। प्रदेश नम्बर ३ को शनिबार बसेको प्रदेश सभामा सांसदहरुले प्रदेशको राजधानीको विषयमा छुट्टै प्रस्ताव पेस गरेका छन् भने नामाकरणका विषयमा एउटा मात्र प्रस्ताव पेस भएको छ।

 बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडा कायम गरियोस भनी संविधानको धारा २८८ को उपदफा २ बमोजिम प्रस्ताव पेस गरे। उक्त प्रस्तावमा नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाँले प्रस्तावको समर्थन गरे। सांसद इन्द्रबहादुर बानियाँले विचार फरक भएपनि निर्णय एक हुनसक्ने भन्दै मुख्य मन्त्री डोरमणी पौडेलले राखेको प्रस्तावमा समर्थन जनाए। त्यस्तै सांसदहरु रिता माझि र रिना गुरुङले पनि उक्त प्रस्तावको समर्थन गरे। प्रदेशको नाम र राजधानी बारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एकै ठाउँमा उभिएका छन्।

त्यस्तै प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेश ३ को नामाकरण बागमती कायम गरियोस भनी प्रस्ताव पेस गरेका थिए। शनिबार बसेको प्रदेश ३ को प्रदेश सभाको बैठकमा सांसद बानियाँले प्रस्ताव गरेको उक्त नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामेश्वर फुयाल, राप्रपाकी रिता माझी र रिना गुरुङ, विवेकसील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्यले समर्थन गरे।

शनिवार बसेको प्रदेश सभाको बैठकमा विवेकशिल साझापार्टीका सांसद रमेश पौडेलले प्रदेशको राजधानी धुलिखेल बनाउने प्रस्ताव गरेका छन्। उनले २ वर्षदेखि संसदमा प्रदेशको राजधानी कहाँ हुनुपर्ने भनेर छलफल भएको र सबैभन्दा बढी प्रस्ताव काभ्रेपलाञ्चोक राख्ने भन्ने भएकाले आफुनो प्रस्ताव काभ्रेपलाञ्चोक हुनुपर्ने बताए। उनले ठूला दलहरु ६० लाख नागरिकको पक्षमा उभिनुहोला भन्ने लागेको तर नभएकाले आफुले प्रस्ताव पेस गरेको बताए। उनले संविधानको धारा २८८ को उपदफा २ बमोजिम काभ्रेपलाञ्चोकको धुलिखेल राजधानी तोकियोस भन्ने प्रस्ताव पेस गरे। सांसद शोभा शाक्य र विराज भक्त श्रेष्ठले उक्त प्रस्तावको समर्थन गरे।

सांसद रिता माझीले माझिहरुको देवताको नाम पनि बागमती भएकाले प्रदेश ३ को नामाकरण बागमती राखिनुले आफुहरु खुसी भएको बताइन्। उनले जातिय नाउँमा नामाकरण गर्न धेरै प्रयास भएपनि अन्ततः बागमती नै उपयुक्त भएको भन्दै समर्थन गगरिन्।

अर्का सांसद रिना गुरुङले बागमतीबाट प्रदेशको नामाकरण गर्दा पवित्र बागमती फोहोर भएको जस्तै प्रदेशको अवस्था नपुगोस भन्ने कामना गर्दै पवित्र प्रदेश निर्माणको लागि पनि बागमती नाम उपयुक्त भएको बताइन्। प्रदेश राजधानीमा छुट्टै प्रस्ताव दर्ता गरेका सांसद रमेश पौडेलले पनि बागमती नाममा समर्थन जनाए। त्यस्तै सांसद शोभा शाक्यले बागमतीको नामाकरणलाई समर्थन गदैं १३ वटै जिल्लाका जनताहरुको मुखमा झुण्डिएको कारणले बागमतिलाई स्वीकार गरिएको बताइन्।

त्यस्तै प्रस्ताव माथि छलफल गरियोस भन्ने सांसद इन्द्र बहादुर बानियाँको प्रस्तावमाथि छलफल गर्दै सांसद प्रेम बहादुर तामाङले सदनमा अग्राधिकारको कुरा गरेर, आत्म निर्णयको कुरा धेरै गर्ने तर उत्पीडितहरुको पीडालाई समर्थन गर्ने कोही नभएको भन्दै बागमती नाम राख्न नहुने बताए। आज दर्ता भइ छलफल भएका प्रस्तावमा आइतबार बिहान ९ बजे बस्ने बैठकले नाम र सदरमुकाम रहने स्थानको निर्णय दिनेछ।

प्रकाशित: २६ पुस २०७६ १०:४१ शनिबार

प्रदेश_३