राजनीति

मन्त्री पुन र भुटानी अर्थमन्त्रीबीच समान समस्यासँग मिलेर जुँध्ने सहमति

यूएइ - नेपाल र भुटानबीच जलवायु परिवर्तनको असरका कारण उर्जा क्षेत्रमा परिरहेको र भविष्यमा पर्न सक्ने असरबारे अन्तर्राष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने सहमति भएको छ।अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन यूएई आएका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र भुटानका अर्थमन्त्री ल्योन्पो लोकनाथ शर्माबीच शुक्रबार भएको साइडलाइन भेटवार्तामा समान समस्याको समाधान मिलेर गर्ने समझदारी भएको हो।

भेटमा मन्त्री पुनले भौगोलिक र जलवायुका हिसाबले नेपाल र भुटानबीच धेरै समानता रहेको चचौ गर्दै जलवायु परिवर्तका कारण उस्तै समस्या भोगिरहेको बताए। मन्त्री पुनले नवीकरणीय उर्जा र जलविद्युत क्षेत्रका चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा एकै आवाज र भावना मुखरित गर्न सके हिमाली देशहरुले भोग्दै आएका जलवायु परिवर्तनका समस्याबारे विश्व समुदायको ध्यानाकृष्ट गराउन सकिने उल्लेख गरे। हिमाल पग्लने र खोलाहरुमा बाढी आउने समस्याका कारण जलविद्युत आयोजना र अन्य विकासका पूर्वाधारमा कतिबेला के हुने भन्ने त्रासमा बस्नुपर्ने अवस्था आएको बताए।

जवाफमा भुटानी अर्थमन्त्री शर्माले नेपाल र भुटानको अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज हुने विश्वास दिलाए। नेपाल र भुटान दुवैले जलविद्युतमा धेरै लगानी गरिसकेको भन्दै उनले वातावरणीय दुस्प्रभावको असरबाट बच्न सहकार्य हुने प्रतिबद्धता जनाए। मन्त्री शर्माले नेपाल र भुटानले ठूलो परिमाणमा विद्युत उत्पादन गर्न सके भारत र बंगलादेशमा बजारको प्रचुर सम्भावना रहेको औल्याए। यस्तै मन्त्री शर्माले नेपालले बायो ग्यासमा राम्रो अनुभव हासिल गरेको भन्दै प्रशंसा गरे। बायोग्यासमा नेपालले हासिल गरेको अनुभवबाट सिक्न आफूहरु आतुर रहको मन्त्री शर्माको भनाइ थियो।

 

प्रकाशित: २५ पुस २०७६ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App