राजनीति

बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्न सक्दैन: नेता खाँण

कार्यक्रममा उपिस्थत सहभागी तथा मेला उद्घाटनका क्रममा प्रस्तुत गरीएको झाकीहरु । तस्बिर/रेखा भुसाल

बुटवल- नेपाली कांग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्नै नसक्ने बताएका छन्। बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको औधोगिक व्यापार मेलाको आज बुटवलमा उदघाटन गर्दै नेता खाँणले राजधानी सार्न पाइन्छ की भन्ने बहानामा नाम र राजधानीको विषय नअल्झाउन प्रदेश सभा र सरकारलाई आग्रह गरेका हुन्।

‘केही साथीहरुलाई बुटवल मन परेको छैन। त्यसैले राजधानी सार्न पर्दा पछाडी गतिविधी भइराख्या छन् भन्ने सुनिन्छ। एकजना बुटवलवासी र यहीको जनप्रतिनिधिका नाताले पनि म तपाईहरुलाई भन्न चाहान्छु बुटवलबाट राजधानी सार्ने कुनै पनि गतीविधि नहोस्। त्यो तपाईहरुले धान्नै सक्नुहुन्न’ नेता खाँणले भने। नाम र स्थाई राजधानी तोक्नु पर्ने संवैधानिक अधिकार र जिम्मेवारी तत्काल पूरा गर्न उनले प्रदेश सरकार र सभालाई आग्रहसमेत गरे।

राजनीतिक, सामाजिक, साँस्कृतिक,आर्थिक, पर्यटकीय तथा बहुसंख्यक जनताको पायक पर्ने  हिसावले रुपन्देही देशकै केन्द्र भागमा रहेकाले यसैलाई स्थाई राजधानी तोक्नु पर्नेमा उनले जोड दिए। भूगोललाई मात्रै आधार बनाएर मध्य भागमै राजधानी बनाएका उदाहरण विश्वका कुनै पनि मुलुकमा नभएको भन्दै नेता खाँणले देशभित्रै पनि प्रदेश २ को मोरङ्ग, सुदुरपश्चिमको कैलाली र कर्णालीको सुर्खेत मध्य भाग नपर्ने दावी गरे।

राजनीतिक, सामाजिक , साँस्कृतिक, धार्मिक, आर्थिक, औधोगिक, यातायात सेवाको सुगमता तथा महत्वलाई ध्यानमा राखेरै अन्य प्रदेशको स्थाई मुकाम तोकीएको भन्दै उनले प्रदेश ५ मा पनि सोही आधारमा बुटवल नै स्थाई राजधानी बन्ने बताए। बेलहिया भन्सार, अन्तरराष्ट्रिय  बिमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, सिद्धार्थ लोकमार्ग तथा  अन्य प्रदेश र पहाडी जिल्लाहरुसँगको कनेक्टिभिटीका हिसावले रुपन्देही नै प्रदेश राजधानीका लागि उपयुक्त रहेको तर्क नेता खाँणको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान र चन्द्र ढकालले  मुलुकको समृद्धिका लागि उत्पादन र निर्यातमुखी अर्थतन्त्र निर्माणमा हुनु पर्नेमा जोड दिए। लगानी प्रवद्र्धनका लागि तीन तहकै सरकार नीतिगत रुपमै तयार हुनु पर्नेमा जोड दिए। आयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेश ५ मा उद्योग, कृषि र पर्यटन क्षेत्रमा लगानीको प्रसस्त सम्भावना रहे पनि ऐन कानुन नबन्दा लगानीको वातावरण बन्न नसकेको बताए।

कार्यक्रममा प्रदेश सभासद भोजप्रसाद श्रेष्ठ, पुष्पा चौधरी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारी, प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजु, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी लगायतले मेला सफलताको शुभकामना दिए।

पुस २३ गतेसम्म चल्ने  मेलाको ५  लाख दर्शकले अवलोकन गर्ने र १५ कारोड बढीको कारोबार हुने अनुमान गरीएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी बताए।

 

प्रकाशित: ९ पुस २०७६ १४:१२ बुधबार

बुटवल राजधानी परिणाम सरकार