राजनीति

पूर्वमाओवादी कार्यकर्ताको घरबाट १० हजार गोली बरामद

फेला परेको हतियार र गोली लैजादै सुरक्षाकर्मी। तस्बिर सौजन्यः दिपक पुरी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साविक भरौल गाविस) स्थित एक पूर्वमाओावदी कार्यकर्ताको घरबाट खिया लागेको  एसएमजी  र ठुलो परिणाममा गोली बरामद भएको छ। 

नेपाली सेनाको इटहरीस्थित पुर्वी पृतना मुख्यालयलाई बिशेष सूचना आएको आधारमा सुरक्षा निकायले आइतबार हतियार र गोली बरामद गरेको हो। सुरक्षा निकायले एक थान खिया लागेको एसएमजी र करिब १० हजार गोली बरामद भएको हो। 

‘एक थान खिया लागेको एसएमजी र ९ हजार ९ सय ९२ थान गोली भेटिएको छ’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी यज्ञविनोद पोखरेलले भने।

उनका अनुसार स्थानीय खेम प्रधानको घरमा जुमिन मुनि गाडिएको अवस्थामा ती हतियार बरामद गरिएको हो। ‘२० लिटरको प्लाष्टिकको ड्रमभित्र हालेर गाडेको अवस्थामा भेटिएको छ,’एसपी पोखरेलले भने,‘यसबारेमा अनुसन्धान भइरहेको छ।’

हतियार र गोली भेटिएको घरधनी प्रधान पुर्वमाओवादी कार्यकर्ता हुन्। उनले २०६७ सालमा घरमा नै कुखुरा फर्म खोलेका थिए। हतियार र गोली भेटिएको ठाउँ सोही कुखुरा फर्म मुनि हो।

फर्म ढलान गरिएको जमिन मुनि हतियार र गोली भेटिएकोले ती २०६७ सालअघि कै भएको सुरक्षा निकायको निष्कर्ष छ। ‘२०६७ सालमा कुखुरा फर्मको भुई ढलाइ भएकोले त्यहाँ त्यसभन्दा अघि नै हतियार र गोली गाडेको भन्ने देखिन्छ,’एसपी पोखरेलले भने। 

बरामद भएको हतियार सुनसरीमा अहिलेसम्मकै ठुलो परिणामको हो। यसअघि पनि धरान ६ पानवारीबाट द्वन्द्वकालको अत्याधुनिक हतियारसहित नेत्रविक्रम चन्द विप्लवको कार्यकर्ता पक्राउ परेका थिए। आइतबार बरामद भएको हतियार पनि सशस्त्र द्वन्द्वकालकै हुनसक्ने अनुमान गरिएको छ। हतियार र गोली भेटिएको घरधनी प्रधान पनि पुर्वमाओवादी कार्यकर्ता हुन्।

स्थानीयका अनुसार उनी सशस्त्र युद्धको समयमा अर्धभुमिगत थिए। तर, पछिल्लो केही बर्ष यता भने उनी राजनीतिमा सक्रिय नभएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले जानकारी दिए। ‘उनी पूर्वमाओवादी कार्यकर्ता हुन्, अर्धभुमिगत थिए। तर, पछिल्लो समय राजनीतिकरुपमा निष्क्रिय बसेका थिए,’मेयर खनालले भने,‘२०७४ को स्थानीय तहको निर्वाचन अघिदेखि नै उनको राजनीतिक सक्रियता थिएन।’

प्रहरीले प्रधानलाई पक्राउ गरे नगरको बिषयमा भने स्पष्ट खुलाएको छैन। जिल्ला प्रहरी प्रमुख तथा एसपी पोखरेलले हतियार र गोली बरामदबारे अनुसन्धान भइरहेको बताए। उनले थप विषय खुलाउन चाहेनन्।

प्रकाशित: ६ पुस २०७६ ११:४६ आइतबार

गोली पूर्वमाओवादी