राजनीति

भ्रमण वर्षभित्रै गोरखा दरवार ठडिन्छः मन्त्री भट्टराई

पुनर्निर्माण हुँदै गरेको गोरखा दरवार निरीक्षणका क्रममा मन्त्री भट्टराई। तस्बिरः नरहरि /नागरिक

गोरखा- दुई वर्षे निर्माण म्याद मंसिर मसान्तमा सकिएको गोरखा दरवारको स्थलगत निरीक्षण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० भित्रै दरवार पुनर्निर्माण सकिने बताए। ‘भ्रमण वर्षभित्र नै यसको पुनर्निर्माण सकेर उद्घाटन गर्नुपर्छ’ शनिबार पुनर्निर्माण हुँदै गरेको दरवारभित्र उभिएर उनले भने ‘मन्त्रालयका कर्मचारी र निर्माण व्यवसायीलाई फर्केपछि भन्नेछु, यो छिटो पुरा हुनुपर्छ।’ गोरखा दरवार निर्माण व्यवसायीले ढिला काम गर्दा दुई वर्षभित्र पुरा हुन नसकेपछि अहिले छ महिना म्याद थप्ने तयारी पुरातत्व बिभागको छ।

शनिबार गोरखा नगरपालिकाले वडा नम्बर ४ पिपलथोमा निर्माण गरेको भिमसेन पार्क र त्यहाँ ठड्याइएको भिमसेन थापाको पूर्ण कदको शालिक अनावरण गर्न मन्त्री भट्टराई शनिबार यहाँ आएका थिए। अनावरणपछि आयोजित सभालाई संवोधन गर्दै उनले भने ‘भिमसेन पार्कलाई अझै बिस्तार गर्ने योजना गोरखा नगरपालिकाको छ भने मेयर सामू प्रस्ताव लिएर आउनुहोस् पर्यटन मन्त्रालयले सहयोग गर्नेछ।’ पर्यटकलाई आकर्षण गर्न शालिक, पार्क निर्माणमा नगरपालिकाको योजना प्रशंसनिय भएको भन्दै त्यस्ता काममा बजेट खर्च गर्नु उपलब्धीमूलक हुने उनले बताए।

भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको योजना रहेकाले नेपाल आएका पर्यटक गोरखा पनि आउने भएकाले पर्यटकका लागि बस्ने उचित होटलको व्यवस्थापन गर्न र पर्यटकिय गन्तब्यको विकास गर्न उनले सुझाब दिए। भूकम्पमा नेपालभर ध्वस्त भएका आठ सय ५० पुरातात्विक ऐतिहासिक सम्पदामध्ये चार सय निर्माण पुरा भएको, दुई सय बन्दै गरेको र बाँकी सम्पदा दुई वर्षभित्र सक्ने लक्ष्य रहेको मन्त्री भट्टराईले बताए।

पृथ्वीनारायण शाहा गोरखादेखि काठमाण्डौँसम्म हिँडेको बाटोलाई एकिकृत पदमार्गको रुपमा विकास गर्ने, पालुङ्टारस्थित हवाई मैदानलाई सञ्चालनको योजना, र मनास्लु पदमार्गलाई व्यवस्थित बनाउने विषयमा पर्यटन मन्त्रालयले चासो दिएको पर्यटन मन्त्री भट्टराईले बताए।  

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भ्रमण वर्षमा गोरखा नगरपालिकाले ‘गोरखा जाऔँ’ भन्ने अभियान सञ्चालन गर्ने घोषणा गर्दै भने ‘सबैले आफ्नो, आफ्नो क्षेत्र र ठाउँबाट गोरखा जाऔँ भन्ने अभियानलाई सफल बनाउन सहयोग गर्नुहुनेछ।’ गोरखा जाऔँ अभियानका क्रममा गोरखामा हजारौँ आन्तरीक र बाह्य पर्यटक भित्र्याउन सकिने उनले बताए। शनिबार उनले अनावरण गरेको पाँच फिट अग्लो भिमसेन थापाको शालिक गोरखा नगरपालिका २२ लाख रुपैयाँ खर्चेर तयार गरेको जनाएको छ।

 

प्रकाशित: ५ पुस २०७६ १०:१३ शनिबार

भ्रमण_वर्ष गोरखा_दरवार