राजनीति

‘समाजमा हिंसा कायम हुँदा जनता असुरक्षित छन्'

वीरेन्द्रनगर- विकासले गति लिन नसक्दा जनता अभावै अभावमा गुज्रिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्। शिक्षादिक्षा, स्वास्थ्यपोचार, स्वस्थ खानेपानी लगायतबाट उनीहरू अहिले पनि वञ्चित भएको उनको भनाइ छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले विकासले गति नलिँदा सहर तथा बजारदेखि गाउँसम्मका सडक कच्ची तथा धुलाम्मे भएको बताए। ‘समाजमा अहिले पनि हिंसा कायम हुँदा जनता असुरक्षित छन्,’ उनले भने। व्यवस्था मात्र बदल्नु ठूलो कुरा नभएको भन्दै उनले जनताको अवस्था पनि परिवर्तन हुनुपर्ने बताए।

‘अहिले पनि सडक धुलाम्मे छन्, जनताले स्वच्छ खानेपानी खान पाएका छैनन्, शिक्षा, स्वास्थ्य जस्ता सुविधा पाएका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थाको अन्त्यका लागि जनता पर्खाइमा छन्।’ जनताले समृद्ध नेपाल चाहेको भन्दै उनले कर्णाली प्रदेश सरकार उनीहरूको पर्खाइलाई साकार पार्न व्यवस्थित ढंगले काम गरिरहेको बताए।

अहिले सरकार कानुन निर्माणसँगै विकास निर्माणमा लागेको उनले बताए। प्रदेश सरकारसँग भौतिक संरचना र जनशक्ति अभाव हुँदा काम गर्न कठिनाइ भएको भन्दै उनले यसको व्यवस्थापनमा सरकार लागि परेको बताए।

त्यस्तै उनले कर्णाली अर्गानिक प्रदेश बनाउन सरकार लागि परेकाले निजी क्षेत्रले पनि यस अभियानलाई सघाउनु पर्ने बताए। कर्णालीमा अर्गानिक प्रदेशको राम्रो सम्भावना भएकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। अर्काे प्रसंगमा उनले कर्णाली बनीबनावट सुन्दरता नभएको भन्दै उनले प्राकृतिक रुपले सौन्दर्यता भएको बताए।
 

प्रकाशित: ४ पुस २०७६ १२:२७ शुक्रबार

समाज हिंसा जनता असुरक्षित