राजनीति

चेक काण्डमा पूर्व रजिष्ट्रार श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान। पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, प्रतिष्ठानकी आर्थिक प्रशासन प्रमुख रुघा सिंघाची अग्रवाल। तस्बिरःनागरिक

धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा आरोप पत्र दायर गरेको छ।

मिलेमतोमा विल भरपाई नराखी एवं भौचरसमेत नउठाई चेकमार्फत प्रतिष्ठानको खाताबाट ५ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट खुलेको जनाउदै अख्तियारले मंगलबार पूर्व रजिष्ट्रर श्रेष्ठसहित चारविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले पुर्व रजिष्ट्रचारसँगै प्रतिष्ठानको आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल र क्लर्कद्धय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध पनि अदालतमा आरोप पत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरु बहालवाला पदाधिकारी एवं कर्मचारी भए स्वतः निलम्बनमा पर्ने अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए। ‘अनुसन्धान पश्चात बिशेष अदालतमा आरोपपत्र दायर गरिएको हो, बहालवालाको हकमा स्वतः निलम्बनमा पर्छन्,’मोवाइल सम्पर्कमा प्रवक्ता कोइरालाले भने।

अख्तियारका भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार रुपैयाँ सरकारी रकम हिनामिना भएको अनुसन्धानबाट पुष्टि भएको छ। गत बैशाख २३ गते प्रतिष्ठानसँग कारोबार तथा कुनै पनि सरोकार नभएको तनहुँका जीबन पौडेलको नाममा काटिएको चेक एनआइसि एसियाको मोरङको इन्द्रपुर शाखाबाट साटिएको थियो। चेकमा तत्कालिन रजिष्ट्रार श्रेष्ठ र आर्थिक प्रशासन शाखा प्रमुख सिंघाचीको हस्ताक्षर थियो। दुवै जनाले चेकमा आफुहरुले हस्ताक्षर नगरेको र किर्ते गरेको दाबी गर्दै आएका थिए।

गएको बैशाखमा साटिएको चेकबारे गत असार अन्तिम साता मात्र थाह भएपछि प्रतिष्ठानले आन्तरिक अनुसन्धान थालेको थियो भने उजुरी परेपछि अख्तियारले पनि अनुसन्धान थालेको थियो। अनुसन्धानबाट चेक साटिएको रहस्य खुल्न बाँकी रहदा नै केही समयअघि पुनः प्रतिष्ठानको खातामा ५ लाख ५० हजार रुपैयाँ रहस्यमय तरिकाले जम्मा भएको थियो। यही घटनामा अख्तियारले मिलेमतो गरी सरकारी रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०), सोही ऐनको दफा ३ को उपदफा (१०) को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी बिगो ५ लाख ५० हजार कायम गरी चारै जनाबाट असुलउपर गर्न पनि माग गरेको छ। यो चेक काण्डको रहस्य खुल्न नपाउदै प्रतिष्ठानमा सोही प्रकृतिको पुनः अर्को चेक काण्ड भएको छ। सनराइज बैकको खाताबाट ४ लाख ८० हजार रुपैयाँको चेक भुक्तानी भएपछि प्रहरीले प्रतिष्ठानमै अध्ययनरत एमबिबिएसका दुई विद्यार्थी र बैंकको सिरहास्थित मिर्चैया शाखाका २ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

यसअघि पनि प्रतिष्ठानका पूर्व र बहालवाला पदाधिकारीसहित ८ जनाविरुद्ध गएको असार ३० गते पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले तत्कालिन बहालवाला रजिष्ट्रारचार श्रेष्ठसँगै पूर्व उपकुलपति डा.वीपी दास, पूर्व अस्पताल निर्देशक डा.अरविन्द सिन्हा, पूर्व रजिष्ट्रार नन्दकुमार थापा, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, लेखा प्रमुख दिनेशराज दाहाल र उपकरण सप्लायर्सद्धय उमेश अग्रवाल, चेतन अग्रवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यो मुद्दा दायर भएसँगै बहालवाला रजिष्ट्रार श्रेष्ठ, डेपुटी रजिष्ट्रार श्रीवास्तव र लेखा प्रमुख दाहाल निलम्बित भएका थिए।  

 

प्रकाशित: १ पुस २०७६ १०:१६ मंगलबार

चेक_काण्ड भ्रष्टाचार मुद्दा