राजनीति

मिचिएको सीमा फिर्ता लिनका लागि मर्न पनि तयार छौं : मन्त्री अर्याल

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पद्मा अर्याल। तस्बिर: टंक/नागरिक

सर्लाही- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले भारतद्वारा मिचिएको सीमा फिर्ता लिनका लागि आफुहरु मर्न पनि तयार रहेको बताएकी छिन्।

आइतबार सर्लाहीको बरहथबामा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी सर्लाहीले आयोजना गरेको ‘सर्लाहीमा भूमि सम्बन्धी समस्या र समाधानको लागि अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले मिचिएको भूमि फिर्ता ल्याउनका लागि सरकारले जस्तोसुकै कदम उठाउने दाबी गरेकी हुन्।

‘कम्युनिष्ट पार्टीको झण्डा भनेको राष्ट्रवादको प्रतिक हो, अहिले राष्ट्रियताका लागि अनवरत लडिरहेको र राष्ट्रवादको झण्डामुनी रहेर कम्युनिष्ट राजनीति गरेका देश एवं जनताका लागि अनवरत लडिरहेका नेताहरु नेतृत्वको सरकार छ’ मन्त्री अर्यालले दाबी गरिन्, ‘त्यसैले तपाईहरु ढुक्क हुनोस्, सरकारले भारतद्वारा मिचिएको जमिन फिर्ता ल्याएरै छाड्छ र राष्ट्रियताका लागि सरकारमा रहेका हाँमीहरु मर्न पनि तयार छौं।’

वर्तमान सरकारले मिचिएको भूमि फिर्ता ल्याउने कार्यलाई अवसरको रुपमा लिएको उल्लेख गर्दै मन्त्री अर्यालले जमिन फिर्ता ल्याउनका लागि भारत सरकारसँग कुटनैतिक ढंगले वार्ता र सम्बाद बढाई सकेको दाबी गरिन्। ‘यो समस्या २०३ वर्षअघी देखिको हो, हिजोका शासकहरुले किन समस्या समाधान गरेनन् भनेर हामी प्रश्न उठाउने वा आरोप लगाउँदैनौं’, मन्त्री अर्यालको ठोकूवा थियो, ‘राष्ट्रियतासँग जोडिएको यो समस्या समाधान गर्ने कार्यलाई अवसरको रुपमा लिँदै यही सरकारले टुंग्याएरै छाड्छ।’

कुटनैतिक ढंगले वार्ता र सम्बादको माध्यमबाट भारत सरकारसँग सीमा अतिक्रमणको विषयमा कुरा भईरहेको र पूर्णरुपले टुंगिन केही समय लाग्न सक्ने मन्त्री अर्यालको कथन थियो। ‘वार्ता र सम्बादको माध्यमबाट भूमि अतिक्रमण सम्बन्धी समस्याको समाधान खोज्न सूरु भईसक्यो’, उनले भनिन्, ‘हामी कसैको एक ईन्च जमिन पनि अतिक्रमण गर्दैनौं र हाम्रो पनि एक ईन्च जमिन मिच्न दिदैनौं।’

विगतमा महाकाली सन्धी गर्नेहरुले आज उग्र राष्ट्रवाद प्रस्तुत गरेको देखेर आफूहरु अचम्मित भएको भन्दै मन्त्री अर्यालले आश्चर्य व्यक्त गरिन्। नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षता रहेको कार्यक्रममा अव्यवस्थित जमिन एवं दोहोरो लालपूर्जा लगायत समस्याबारे नेता हरि उप्रेतीले मन्त्री अर्याल समक्ष लिखित विवरण प्रस्तुत गरेका थिए।
 

प्रकाशित: २९ मंसिर २०७६ १३:०२ आइतबार

मिचिएको सीमा_फिर्ता तयार