काठमाडौं- शनिबार १३ औं संसद सेवा दिवस मनाइएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरि सेवा दिवस मनाइएको हो। दिवसका अवसरमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीय सचिवालयका कर्मचारीहरुलाई आफुले पाएको जिम्मेवारी देशलाई केन्द्रमा राखेर गर्न आग्रह गरे।
'कुनै पनि पदमा बसिसकेपछि नुनको सोझो बन्नु भन्दा पनि देशका लागि काम गर्नुपर्छ। राज्यले जति सेवा सुविधा दिएको छ त्यती नै काम गर्छु भनेर हुँदैन। हामी देशको नागरिक हौँ जनप्रतिनिधि हौँ। त्यसकारण अझ बढी मिहेनत गर्नुपर्छ’, उनले भने।
प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सचिवालयका कर्मचारीहरुले गर्ने ढिलासुस्ती प्रति असन्तुष्टि व्यक्त गरे। सबै कर्मचारीहरुको काम राम्रो छ तर केही ढिलासुस्ती हुने गर्दछ त्यसलाई सुधार गर्नुपर्यो’, उनले भने।
संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद सेवालाई विशिष्ट सेवाको रुपमा विकास गर्न अन्य देशहरुको अभ्यास र काम कारवाहीलाई अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताए। कर्मचारीलाई सक्षम बनाउन प्रशिक्षणका लागि सचिवालय भित्रै प्रभावकारी संयन्त्रको आवश्यकता रहेको उनले बताए।
दिवसका अवसरमा संसदका उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको छ।
प्रकाशित: २८ मंसिर २०७६ १२:५३ शनिबार