राजनीति

बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै हुन्छः मन्त्री मगर

फाइल फाेटाे

काठमाडौं- खानेपानीमन्त्री वीना मगरले काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने बताएकी छिन्। मन्त्री मगरले शुक्रबार प्रशोधन केन्द्रको निरिक्षण गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब छिट्टै उद्घाटन हुने मिति तय हुने बताएकी हुन्।

उनले प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने बताइन्।
दुई वर्ष अघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण कार्य २०७६ साउन महिनामा सम्पन्न गरिसक्नुपर्ने थियो। तर केही ढिला भएपनि काम सम्पन्न भएको मन्त्री मगरले बताइन्। सरकारले बागमती नदिको सफाई अभियान अन्तर्गत काठमाडौं उपत्यकाको ढल सिधै नदिमा मिसिन नदिन ढल प्रशोधन केन्द्र निर्माण गरेको हो।

२ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ। प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ। 

प्रकाशित: २७ मंसिर २०७६ ०९:५८ शुक्रबार

वीना_मगर फोहोर_पानी प्रशोधन_केन्द्र