राजनीति

जलवायु परिवर्तनका क्षेत्रमा लगानी गर्न मन्त्री बस्नेतको आग्रह

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकहरुका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानीका लागि विकसित देशहरुलाई आह्वान गरेका छन्।

स्पेनको राजधानी मड्रिडमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विकसित देशहरुलाई कार्बन उत्सर्जन र  बढ्दो तापक्रम न्यूनीकरण सम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराए। विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुहरुलाई जलवायु परिवर्तन अनुकूलन नीति निर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने उनको भनाई थियो।

मन्त्री बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १.५ डिग्री सेल्सियस तल कायम गर्ने पेरिस सम्झौता कार्यान्वयनमा आउन नसकेकामा चिन्ता ब्यक्त गर्दै विकसित देशहरुको ध्यानाकर्षण गराए।  गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उनले कार्बन उत्सर्जनको वर्तमान बृद्धिदरले नेपाल जस्ता कम विकसित देशहरुले उच्चतम जोखिममा रहेको उल्लेख गरे।

दक्षिण एसियामा मात्र विश्वको २० प्रतिशत जनसंख्या हिन्दु–कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोतहरु खतरामा रहेको औंल्याए।

हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोवास गर्ने ठूलो जनसंख्या हिमताल विस्फोटन, अत्याधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उनले यो क्षेत्रमा विषेश ध्यान दिन सरोकारवालाहरुको ध्यानार्षण गराए।

 ‘जलवायु लगानीको ८० प्रतिशत सबैभन्दा तल्लो तहमा परिचालन गर्ने राष्ट्रिय जलवायु परिवर्तन नीति तय गरेर नेपालले जलवायु परिवर्तनको एजेण्डा कार्यान्वयनमा ठूलो फड्को मारेको छ,’ मन्त्री बस्नेतले भने। नेपालले स्थानीय स्तरसम्म प्रकोप तयारी र प्रतिकार्य, जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनका कार्यहरु गरिरहेको जानकारी समेत उनले सम्मेलनमा दिए।

मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चको रुपमा ‘सगरमाथा सम्वाद कार्यक्रम’ को आयोजना गरेको जानकारी समेत गराए। उनले सम्मेलनमा सहभागीहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै आगामी सन् २०२० मा नेपाल भ्रमण गर्न निम्तासमेत गरे।

 

 

प्रकाशित: २६ मंसिर २०७६ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App