राजनीति

रेडियोधर्मी पदार्थको इजजात निजी क्षेत्रले नपाउने

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पारमाणविकसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने व्यवस्था गर्दै बुधबार विधेयक पारित गरेको छ। सरकारले ल्याएको पारमाणवि सम्बन्धी विधेयकमा समितिले रेडियोधर्मी पदार्थको पनि उत्खनन गर्न नपाउने व्यवस्था गरेको छ। पारमाणविक पदार्थ र रेडियोधर्मी पदार्थको उत्पादन गर्ने गरी विधेयक ल्याइएको थियो। तर, समितिमा भएको छलफलमा पारमाणविकसम्बन्धी कुनै पनि शब्द नराखी रेडियोधर्मी पदार्थको मात्रै उपयोग गर्न पाइने व्यवस्था राखेको छ। विधेयक पारित भएपछि ऐनको नाम रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी व्यवस्था ऐन रहने छ।

रेडियोधर्मी पदार्थ अस्पतालमा प्रयोग गर्नुपर्ने भएकाले यसलाई व्यवस्थित रूपमा प्रयोग गर्न केही प्रावधान राखिएका छन्। रेडियोधर्मी पदार्थको अनुसन्धान गर्न पाइने तर, उत्खनन् गर्न नपाउने व्यवस्था राखिएकोछ। रेडियोधर्मी पदार्थको अनुसन्धान गर्न पनि सरकारी संस्थाले मात्र पाउने व्यवस्था गरिएको छ। रेडियोधर्मी पदार्थ प्रयोगका लागि निजी क्षेत्रलाई लाइसेन्स बन्द भएको छ। रेडियोधर्मी पदार्थको लाइसेन्स लिइसकेका व्यक्तिले एक वर्षभित्र संस्थागत बनाएमा मात्र लाइसेन्स वैधानिक हुनेछ। अस्पताल संस्थागत रुपमा दर्ता गरेमा रेडियोधर्मी पदार्थको लाइसेन्स प्राप्त हुन सक्नेछ। तर, एउटा डाक्टरले रेडियोधर्मी पदार्थको लाइसेन्स लिन पाउने छैन। रेडियोधर्मी पदार्थको चोरी निकासी गरेमा तथा विसर्जनमा लापरबाही गरेमा कडा सजायको व्यवस्था गरिएको छ। रेडियोधर्मी पदार्थको दुरुपयोग गर्न नहुने, वातावरण अनुकूल हुनुपर्ने, चोरी पैठारी गर्न नपाउने व्यवस्था गरिएको छ।

रेडियोधर्मी पदार्थको अनुसन्धान केन्द्र राखेर कृषि तथा स्वास्थ्य क्षेत्रमा गर्न सकिने सम्भाव्यताबारे अनुसन्धान गर्न सकिने व्यवस्था गरिएको छ। रेडियोधर्मी पदार्थको अनुसन्धान केन्द्र राखेर कृषि तथा स्वास्थ्य क्षेत्रमा गर्न सकिने सम्भाव्यताबारे अनुसन्धान हुनेछ।

रेडियोधर्मी पदार्थको अनुसन्धान केन्द्रलाई आवश्यक निर्देशन दिनका लागि शिक्षा, तीन सुरक्षा निकायका प्रमुख, उद्योग रक्षा, स्वास्थ्य सचिव, ३ जना विज्ञ रहने निर्देशक समिति गठन गर्ने व्यवस्था गरेको छ। नेपालको भू–राजनीतिक अवस्था र दुई ठूला परमाणविक देशबीचमा रहेकाले यसले नेपाललाई अनावश्यक विवाद ल्याउन सक्छ भनेर समितिले पारमाणविक पदार्थको उत्पादनलाई हटाएको छ।

परमाणविक पदार्थको उत्पादन गर्नका लागि प्रयोग हुने ‘युरेनियम २३३, युरेनियम २३५, लाई हटाइएको छ। विधेयकको दफा २ को खण्ड (ण) मा राखिएको पारणाविक पदार्थ भन्नाले ‘युरेनियम २३३, युरेनियम २३५, वा परिमार्जित गरिएको युरेनियम प्लुटोनियम र यसका आईसोटोप्स सम्झनुपर्दछ,’ भन्ने वाक्य पूरै हटाइएको छ। विधेयको प्रस्तावना पनि शान्तिपूर्ण उपयोग र अनुसन्धान गर्न रेडियोधर्मी पदार्थको प्रयोग गर्ने उल्लेख गरिएको छ। विधेयक गत चैत १० गते समितिमा पुगेको थियो। देशका विभिन्न ठाउँमा रहेको युरेनियमलाई उत्खनन् गर्दैै कच्चा पदार्थका रूपमा इन्धन र परमाणु हतियार निर्माणमा उपयोग गर्ने व्यवस्था राख्दै विधेयक ल्याइएको थियो।

प्रकाशित: २६ मंसिर २०७६ ०१:४३ बिहीबार

रेडियोधर्मी_पदार्थ