राजनीति

‘दुई दिनभित्र निर्वाचन समीक्षा पठाउनू’

काठमाडौं – नेकपा सचिवालय बैठकले हालै सम्पन्न भएको निर्वाचनको समीक्षा बुझाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएको छ। नेकपा मुख्याल धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकले निर्वाचन भएका क्षेत्रको समिक्षा बुझाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएको हो।

पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाललाई मंसिर पहिलो साता कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि पहिलो पटक उनकै अध्यक्षतामा पार्टी मुख्यालयमा बैठक बसेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले आ–आफ्नो निर्वाचन क्षेत्रको समीक्षा दुई दिनभित्र पठाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएको जानकारी दिए।

मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा नेकपाले आफ्नो राम्रो प्रभाव भएका क्षेत्रमा समेत हार व्योहोर्नुपरेपछि स्थानीय पार्टी कमिटीसँग त्यसको कारण सहितको समीक्षा बुझाउन आग्रह गरेको हो। नेकपाले अघील्लो निर्वाचनमा जित हात पारेको दाङ, भक्तपुर, चितवन, धरान अर्घाखाँचीलगायतका क्षेत्रमा प्रदेश सभा सदस्य, उपमहानगरपालिकाका मेयर तथा वडा अध्यक्षमा यसपटक हार व्यहोरेको थियो। बैठकले अस्पतालमा उपचार गराइरहका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अर्काे बैठक यही मंसिर २३ मा बस्ने निर्णय गरेको छ।

प्रकाशित: १९ मंसिर २०७६ ०१:४६ बिहीबार

निर्वाचन_समीक्षा नेकपा