राजनीति

नम्बर प्लेट फेर्न हतार

काठमाडाैं – हेटौंडामा केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘प्रदेश नं. ३ को राजधानी र नाम तत्काल टुंगो लाग्नेछ।’ उनले यो विषय टुंगो लगाउन मुख्यमन्त्री डोरमणि पौडेललाई निर्देशन पनि दिए। यो निर्देशन कहिलेसम्म कार्यान्वयन होला, भन्न कठिन छ। तर यातायात व्यवस्था विभागलाई भने सवारीसाधनको नम्बर प्लेट फेर्न हतार भइसकेको छ। विभागले सवारीसाधनमा राखिने नम्बर प्लेटको ढाँचा परिवर्तन गर्न प्रदेश ३ लाई निर्देशन दिएको छ।

दुई वर्षअघि डिजिटल नम्बर प्लेट र इम्बोस्ड नम्बर प्लेट राख्न विभागले निर्देशन दिएको थियो। सोही अनुसार प्रक्रिया सुरु भएपछि सर्वसाधारणले झन्झट सहनुप-यो। उक्त प्रक्रिया बीचमै रोकियो। यसै कारण अहिले डिजिटल, इम्बोस्ड र पुरानो नम्बर प्लेट भएका सवारीसाधन सडकमा देख्न पाइन्छ।

विभागले एकरूपता ल्याउन निर्देशन जारी गरेको जनाएको छ। विभागले सोमबार सूचना जारी गरी सवारीसाधनको अगाडि, तल–माथि र पछाडि गरी तीन लाइनमा नम्बर प्लेट लेख्न सवारीधनीलाई निर्देशन दिएको थियो। यातायातकर्मी र विज्ञले यसको विरोध गरेका छन्। प्रदेशको नाम टुंगो नहुँदै नम्बर प्लेटको ढाँचा परिवर्तन गर्दा नामकरण भइसकेपछि फेरि प्लेट परिवर्तन गर्न झन्झट दोहोरिने उनीहरूको भनाइ छ।

यातायातकर्मी रामबहादुर थापाले हतारमा नम्बर प्लेटको ढाँचा परिवर्तन गर्दा सवारीधनीलाई खर्चिलो र झन्झटिलो हुने बताए। ‘यो सीधै मिलोमतो हो। सरकारका केही व्यक्तिले आफ्नो फाइदाको लागि हावादारी निर्णय गरेका छन्,’ उनले भने, ‘प्रदेशको नाम र राजधानीको टुंगो नलागी नम्बर प्लेट फेर्न बाध्य बनाइनुहुँदैन।’ सबैभन्दा पहिले राजनीतिक विषय समाधान गरेर मात्रै यस्तो नियम लागू गर्न सुझाउँदै उनले थपे, ‘यसमा विभागको नियत सफा देखिएन।’

उता ट्राफिक प्रहरीले नम्बर प्लेटमा एकरूपता नहुँदा र अस्पष्ट समेत हुँदा दुर्घटना गराउने सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्न अप्ठेरो भएको तर्क गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रवीकुमार पौडेलले नम्बर प्लेट र इम्बोस्ड नम्बर राख्दा गल्ती गर्ने सवारीसाधनलाई कारबाही गर्न सहज हुने बताए। ‘अहिले यातायात क्षेत्रमा धेरै समस्या छ। धेरैजसो मोटरसाइल र चारपांग्रे सवारीसाधनमै पनि नम्बर प्लेट स्पष्ट लेखिएको हुँदैन। त्यसकारण सवारीसाधनमा तीन ठाउँमा नम्बर प्लेट लेखिनु ठीक हो,’ उनले भने, ‘यस्तो नियम छिटो लागू गर्दा ट्राफिकलाई सजिलो हुन्छ।’ सूचनामा प्रदेश नम्बर र सवारीसाधनको नम्बरसहितको प्लेट तोकिएको ठाउँमा राख्नुपर्ने उल्लेख गरिएको छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले यस्तो नियम लागू गर्दा यातायात व्यवस्था र सवारीसाधनका कमीकमजोरी पत्ता लगाउन सहज हुने दाबी गरे।

प्रकाशित: १९ मंसिर २०७६ ०१:२२ बिहीबार

नम्बर_प्लेट प्रदेश_नं._३ राजधानी नाम