राजनीति

पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुँदैनन्ः मन्त्री ढकाल

भरतपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित नहुने बताएका छन्। भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणपछि आयोजित छलफलमा उनले हरेक बिरामीलाई राज्य मेरो अभिभावक हो भन्ने प्रत्याभूति दिलाउने गरी काम गर्ने उल्लेख गरे।

प्रारम्भिक चरणमा मन्त्रालयको काम र अस्पतालको अवस्थाबारे जानकारी लिइरहेको मन्त्री ढकालले बताए। उनले औषधि किन्न नपर्ने गरी राज्यको तर्फबाट सेवा प्रदान गर्ने योजना रहेको बताए। 'विदेश भ्रमणका नाममा राज्यको स्रोत दोहन भएको छ', उनले भने, 'अब यस्तो प्रवृत्ति दोहोरिँदैन्।' अनावश्यक कुरामा राज्यलाई खर्चको भार बोकाउने परिपाटीको अन्त्य गरिने मन्त्री ढकालको भनाइ थियो।

अनावश्यक सेवा सुविधा कटौती गरी नागरिकलाई निःशुल्क औषधि दिनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री ढकालले उल्लेख गरे। उनले अबदेखि स्वास्थ्य क्षेत्रमा पद रिक्त नहुने बताए। 'अब पद रिक्त हुँदैनन्, समय भने लाग्छ, हिजोका गल्ती दोहोरिनु हुँदैन्', उनले भने। चिकित्सक अस्पतालभित्र र निजामती कर्मचारी मन्त्रालय आउँदा आस्थाका आधारमा सेवालाई बिटुल्याउन नहुने उनको तर्क थियो। प्रारम्भिक चरणमा देशका सबै अस्पतालको अवस्था बुझ्ने र त्यसपछि दु्रतरुपमा काम गर्ने मन्त्री ढकालले प्रतिबद्धता जनाए।

सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए। 

प्रकाशित: १४ मंसिर २०७६ १५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App