राजनीति

बैतडीका तीन वडामा उपनिर्वाचन सम्पन्न

बैतडीको पुर्चौडी नगरपालिका–४ को पहरोल माविमा मतदानस्थलमा लाइनमा लागेका मतदाता। तस्बिरः नागरिक

बैतडी- बैतडीका तीन वडामा वडाध्यक्ष पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पुर्चौडी नगरपालिका–४, दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा उत्साहपूर्णरुपमा मतदान भएको हो । पुर्चौडी नगरपालिका –४, मा एक हजार ३ सय ३० मत खसेको छ । दुई वटा मतदान केन्द्र रहेको सो वडामा एक हजार ९ सय ९ मतदाता थिए ।

दोगडाकेदार गाउँपालिका–४ मा १ हजार ९८ मत खसेको छ । दुई स्थानमा मतदान केन्द्र रहेको सो वडामा एक हजार ८ सय ८ मतदाता थिए । यस्तै सुर्नया गाउँपालिका–१ मा ४ सय  ३८ मत खसेका छन् । एक स्थानमा मात्र मतदान केन्द्र रहेको सो वडामा ६ सय १९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पुर्चौडी नगरपालिका–४ बाट नेकपाको तर्फबाट शैलेन्द्र धानुक, कांग्रेसको तर्फबाट गोविन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहरा चुनावी मैदानमा छन् । दोगडाकेदार गाउँपालिका–४ मा नेकपाको तर्फबाट नरेन्द्रप्रसाद भट्ट, कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तका तर्फबाट देवसिंह खत्री चुनावी मैदानमा रहेका छन् । सुर्नया गाउँपालिका– १ मा नेकपाबाट धनबहादुर चन्द र कांग्रेसका गजेन्द्रबहादुर चन्द चुनावी मैदानमा रहेका छन् ।

मतदान सम्पन्न भएपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि रातिदेखि नै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
 
दुई ठाउँमा शंकास्पद वस्तु भेटियो
बैतडीको दुई ठाउँमा शंकास्पद वस्तु भेटिए पनि निर्वाचन भने शान्तिपूर्ण ढंगले सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । पुर्चौडी नगरपालिका–४  मा र दोगडाकेदार गाउँपालिका–५ मा  शंकास्पद वस्तु भेटिएको थियो । शनिबार भेट्टिएका दुईवटा शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

बैतडीस्थित हनुमानध्वज गुल्मका नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको बैतडीका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । दोगडाकेदार गाउँपालिका–५ को मालु खोलानजिक महाकाली राजमार्गमा र पुर्चौडी नगरपालिका–४ को पहरौल मावि मतदान केन्द्रभन्दा ३ किलोमिटर टाढा भेट्टिएको शंकास्पद वस्तु प्रेसरकुकुरमा तार जोडेको आवस्थामा रहेको थियो, भने  दोगडाकेदारमा भेट्टिएको शंकाष्पद वस्तु स्टीलको बट्टामा तार जोडेको अवस्थामा रहेको थियो । शंकास्पद वस्तु प्रतिबन्धित नेकपाले राखेको आशंका गरिएको छ ।



                          

प्रकाशित: १४ मंसिर २०७६ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App