राजनीति

कास्की–२ मा ६० प्रतिशत मत खस्यो

पोखरा- उपनिर्वाचन अन्तर्गत कास्की–२ मा ६० प्रतिशत मत खसेको छ। केही छिटफुट घटना बाहेक कास्की–२ का सबै मतदान शान्तिपूर्ण रुपमा भईरहेको निर्वाचन कार्यालयले जनाएको छ।

८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। ‘कतिपय मतदात केन्द्रमा सामान्य विष्फोटका घटना भएपनि त्यसले क्षति भने पुगेको छैन,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा चलिरहेको छ।’

कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीका अनुसार दिउँसो तीन बजेसम्म ६० प्रतिशत मत खसेको छ। अघिल्लो पटक कास्कीमा ६७ प्रतिशत मत खसेको थियो।  

प्रहरीका अनुसार शान्तिउदय मावि, नवप्रभात मावि, सरस्वती टीका मावि, महेन्द्र मावि, चण्डी मावि नजिकै विष्फोट भएपनि क्षति पुगेको छैन। ती मतदान केन्द्रमा विष्फोटक पदार्थ पड्किएपछि केहीबेर मतदाता अन्योलमा परेका थिए। प्रहरीले थप जनशक्ति परिचालन गरेर अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ।

कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन्। यसअघिको निर्वाचनमा कुल ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की २ मा अहिले १ हजार २ सय २० जना मतदाता थपिएर ७१ हजार ८ सय ७१ पुगेको निर्वाचन कार्यालयले जनाएको छ।

 

कास्की–२ मत