राजनीति

मौन अवधिमा मतदाता जोगाउन झनै सकस

धरान – मंसिर १४ गतेको उपनिर्वाचनको मौन अवधि बुधबार मध्यरातीबाट सुरु भइसकेको छ। धरानको मेयर र वडा नं ७ को वडाध्यक्षमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारले झण्डै एक महिना लामो प्रचारप्रसार तथा घरदैलो कार्यक्रम रोकिसकेका छन्। कुनै चुनावी गतिविधि गर्न नपाइने मौन अवधिमा राजनीतिक दल र उम्मेदवार ढुक्क भएर बस्ने अवस्था भने छैन। चुनावी प्रचार गर्न नपाइने यही अवधि राजनीतिक दला लागि सबैभन्दा खतरनाक समय हुन्छ। त्यसैले उनीहरू मौन अवधिमा अझ बढी सक्रिय हुने गरेका छन्।

विगतका चुनावको अनुभवले पनि दलहरुले मौन अवधि कति महत्वपुर्ण समय हो भन्ने बुझेका छन्। महिना दिन लामो चुनावी अभियानको परिणामलाई यही मौन अवधिमा हुने चलखेलले उल्टाइदिन सक्छ। तसर्थ, मौन अवधिमा प्रतिस्पर्धी दलहरु एकले अर्काको गतिविधिलाई सुक्ष्मढंगले निगरानी गरिरहेका हुन्छन् भने मतदातालाई आफ्नो पक्षमा तान्ने भरमग्दुर प्रयासमा पनि हुन्छन्। महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिकशास्त्रका सहप्राध्यपाक डा.अमृतकुमार श्रेष्ठ निर्वाचन आचारसंहिताविपरीत भए पनि ‘चलायमान मतदाता’ निर्णायक हुने भएकाले त्यस्ता मतदातालाई आफ्नो पक्षमा तान्न मौन अवधिमा नै बढी चलखेल हुने गरेको बताउँछन्। ‘दलहरूको पकेटको स्थिति भोटले निर्णय फेर्दैन, तर केही मतदाताले एक साताअघि र केहीले मतदानको दिन निर्णय लिने गरेको अध्ययनबाट देखिएको छ,’ डा.श्रेष्ठले भने, ‘त्यस्ता मतलाई चलायनमान मत भनिन्छ, जता पनि बग्छ सक्छ र त्यो नै निर्णायक हुन्छ। त्यसैले दलहरूत्यो मतलाई तान्न हरसम्भव प्रयास गर्छन्।’

डा. श्रेष्ठका अनुसार अमेरिका, बेलायत, फ्रान्समा गरिएको अध्ययनअनुसार ५० प्रतिशत मतदाताले एक महिनाअघि नै कसलाई भोट दिने भनेर निर्णय लिएका हुन्छन्। केही मत चुनाव नजिक आएपछि अस्थिर हुन्छ, र एक साताअघि निर्णय गर्छन् भने केही मतदाताले भोट दिने दिनमा मात्र निर्णय लिन्छन्। ‘यही कुरालाई बुझेर होला कुनै गतिविधि गर्न नपाइने मौन अवधिमा दल र उम्मेदवार विभिन्न रूप, स्वरूपमा मतदाता प्रभावित पार्न सक्रिय भइरहेको हुन्छ,’ उनले भने, ‘त्यसका लागि अनेक प्रलोभन, आश्वासन बाँडिरहेका पनि हुन्छन्, तर यो आचारसंहिताविपरीत हो।’

नेपाली कांग्रेसका जिल्ला सचिव तथा प्रवक्ता एवं उपनिर्वाचन परिचालन मूल समितिका सदस्य सचिव सुजेन्द्र तामाङ पनि डा. श्रेष्ठसँग सहमत छन्। मौन अवधिमा नै मतदातालाई अनेक प्रलोभन र आश्वासन दिएर प्रभावित गर्ने काम हुने गरेको विगतका चुनावहरुबाट देखिएको उनले बताए। ‘जिन्सी, सरसामान र नगद दिएर पनि मतदाता प्रभावित पार्न दलहरु सक्रिय हुन्छन्। यसपटक त्यस्तो नहोस् भनेर कांग्रेसले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई विशेष निगरानी गर्न आग्रह गरेका छौं,’उनले भने,‘हाम्रो पनि केन्द्र, जिल्ला र स्थानीयस्तरमा अनुगमन समिति छ, त्यसलाई मौन अवधिमा झनै सक्रिय बनाएका छौं, तरुण साथीहरूलाई निगरानीमा खटाएका छौं।’ अन्तिम समयमा आएर प्रलोभन र आश्वासनले मतदाताको मतलाई डाइभर्ट गर्ने र त्या कार्य निष्पक्ष निर्वाचनको लागि खतरनाक हुने उनले बताए।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव एवं उपनिर्वाचन परिचालन मूल समितिका संयोजक रमेश बस्नेत भने अहिले आफुहरु मतदान केन्द्रको प्राविधिक र कानुनी प्रक्रियामा ब्यस्त रहेको बताए। मौन अवधिमा अनावश्यक भ्रम र हल्ला फैलाउने, प्रलोभन देखाउने कामहरुलाई मतदाता आफैले पनि चिर्न आवश्यक हुने उनले बताए। ‘मौन अवधिमा मतलाई फेरबदल गराउने, अनावश्यक हल्ला र भ्रम फैलाउने काम हुनसक्छन्, आश्वासनको खेती गर्न सक्छ, त्यसप्रति सबै र मतदाता पनि सचेत हुन आवश्यक छ,’ बस्नेतले भने, ‘हामी मतदानको प्राविधिक र व्यवस्थापकीय तयारीमा जुटेका छौं, र आफ्नो मतदातालाई प्रलोभन दिनेबाट कसरी सुरक्षित राख्ने भनेर जुटेका छौं।’

प्रकाशित: १३ मंसिर २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App