राजनीति

मतदान केन्द्रमा तीन घेराको सुरक्षा

धरानको मुख्य निर्वाचन अधिकृत कार्यालयबाट निर्वाचन सामग्री मतदानस्थलतर्फ लैजाने तयारीमा कर्मचारी र प्रहरी टोली।

धरान- मंसिर १४ मा मेयर र एक वडाअध्यक्ष पदको उपनिर्वाचन हुन लागेको धरान उपमहानगरपालिकाको मतदान स्थलहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ।

मतदान केन्द्रहरुमा निर्वाचन सामग्री पठाए लगत्तै सुरक्षा व्यवस्था पनि कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बुधबार मध्यरातीदेखि मौन अवधि शुरु भइसकेको छ भने निर्वाचन कार्यालयले कर्मचारीसँगै आवश्यक सामग्रीहरु पनि मतदानस्थमा पठाइसकेको छ। मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार मतदान स्थलमा ३ घेराको सुरक्षा व्यवस्था गरिएको छ। प्रत्येक मतदानस्थलमा १० जना जनपद प्रहरी हुन्छन्। ती मध्ये २ जना प्रहरी हतियार सहित हुनेछन्। ठाउँको संवेदनशिलता अनुसार ११ जना पनि प्रहरी हुनसक्ने उप्रेतीले बताए।

उनका अनुसार मतदानस्थलमा मतदान केन्द्रको संख्या अनुसार थप २ जना प्रहरी हतियार सहित परिचालन गरिनेछ। ‘एउटा मतदानस्थलमा १० वा संवेदनशिलता हेरेर ११ जना प्रहरी हुन्छन्, ती मध्ये २ जना हतियार सहित हुन्छन्,’मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने,‘मतदानस्थलमा प्रत्येक मतदान केन्द्रमा पनि थप २ जना हतियार सहितका प्रहरी हुन्छ। एउटा मतदानस्थलमा ५ वटा केन्द्र छ भने १० जना हतियारधारी प्रहरी थपिएको हुन्छ।’

धरानमा २८ वटा मतदानस्थल रहेको छ भने ९९ वटा मतदान केन्द्र रहेको छ। मतदान केन्द्रको सुरक्षाको लागि ७ सय ५० जनपद प्रहरी खटिएका छन्। उनीहरुको भित्रि सुरक्षा घेरा रहेको हुनेछ। त्यसपछि, मतदान केन्द्र बाहिर सुरक्षाको लागि सशस्त्र प्रहरीको घेरा हुनेछ। धरानको उपनिर्वाचनमा ५ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। नेपाली सेनाको मोवाइल टोलीले पनि निरन्तर गस्ती तथा पेट्रोलिङ गरिरहने मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए। ‘सेनाको १० टोलीले निरन्तर पेट्रोलिङ गरिरहन्छ। आवश्यक परेको स्थानमा सशस्त्र प्रहरी २ मिनेटमै र सेनाको टोली ५ मिनेटभित्र पुग्नेछ,’उनले भने।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वतावरणमा सम्पन्न गर्न कुनै कसुर बाँकी नराखिने निर्वाचन कार्यालयले जनाएको छ। मतदानको अन्तिम चरणको तयारी गरिरहेको कार्यालयले प्रत्यके मतदानस्थलमा एक जना मतदान अधिकृत, एक जना सहायक अधिकृत, २ जना कर्मचारी र एक जना कार्यालय सहयोगी खटाएको छ। यस्तै, आवश्यकता हेरेर ३ देखि ४ जना स्वयमसेवक पनि खटाएको जनाएकोछ। ‘मत पेटिका लगायत निर्वाचन सामग्रीसहित कर्मचारी खटिइसकेका छन्, मतदान केन्द्र निर्माण गर्न र मतदाता परिचय पत्र विरतण पनि शुरु भएको छ,’मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने,‘२ दिन मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन्छौं।’

धरानमा मेयर र वडा न. ७ मा वडाअध्यक्ष पदको लागि निर्वाचन हुँदैछ। निर्वाचन कार्यालयका अनुसार कुल ९२ हजार ८ सय ५३ मतदाता छन्। यो अघिल्लो स्थानीयतह निर्वाचन २०७४ को भन्दा १३ हजार ५ सय ७१ बढी हो। २०७४ मा धरानको मतदाता संख्या ७९ हजार २ सय ८२ थियो। धरानका मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक बर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले उपनिर्वाचन हुनलागेको हो।

मतगणनास्थलमा सिसिटिभी र ब्यारियर राखिने

मतदान भइसकेपछि उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिकाहरु निर्वाचन कार्यालय रहेको धरान १५ स्थित भवनमा ल्याइनेछ। त्यहाँ पनि उम्मेदवारकै प्रतिनिधिहरुको रोहबरमा निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका जिम्मा लिनेछन्।

मतपेटिका र मतगणनाको सुरक्षाको लागि पनि सिसिटिभी जडान गरिएको छ। मतपेटिका राखिने कोठामा एउटा सिसिटिभि जडान छ भने मतगणनास्थलमा २ वटा सिसिटिभि राखिएको छ। एउटा सिसिटिभिले बाहिर निगरानी गर्नेछ। ‘मतगणनास्थलमा गणक कर्मचारी रहन्छन्, उनीहरु र उम्मेदवारका प्रतिनिधिबीचमा तारजालीको ब्यारियर राख्छौं,’ मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने। २०७४ को स्थानीयतह निर्वाचनको मतगणनाको क्रममा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिए पछि यस्तो प्रबन्ध गरिन थालेको हो।

सम्भव भएसम्म सर्वदलीय सहमति गरेर सोही रातीदेखि मतगणना शुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए। ‘चार समूह बनाएर मतगणना गछौं। दलहरुसँग सहमति गरेर १४ गते शुरु भयो भने १६ गते बेलुका नत्र १७ गते १० बजेसम्म गणना सक्ने लक्ष्य छ,’उनले भने।

अपांग, अशक्तहरुलाई गाडीको व्यवस्था

मतदानको दिन निर्वाचन कार्यालयले नै अपांग, अशक्त तथा असहाय वृद्धवृद्धाहरुलाई मतदानस्थलसम्म ल्याउन गाडीको व्यवस्था गर्ने भएको छ। मतदानस्थल भन्दा टाढा घर भएका वृद्धवृद्धा, असहाय तथा अपांगहरुको मतदानको अधिकार सुरक्षित गर्न यस्तो व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताए। ‘टाढा टाढाका असहाय, अपांग तथा ज्येष्ठ नागरिकहरुलाई सुरक्षाकर्मी राखेर निर्वाचन कार्यालयले नै गाडीमा मतदानस्थलसम्म ल्याउछौं, उहाँहरुको मतदानको अधिकारलाई सुरक्षित गराउन यस्तो प्रबन्ध गरेको हो,’उनले भने,‘मतदान गर्न पनि उहाँहरुलाई सहज व्यवस्था गरिन्छ।’

प्रकाशित: १२ मंसिर २०७६ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App