राजनीति

‘म बाहिर भएर वैदेशिक रोजगार सुर्धान सहयोग गर्छु’ (भिडियोसहित)

काठमाडौं– पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले काम गर्दा आफु जुनसुकै बेला हट्न सक्ने स्थिति रहेको बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै विष्टले सो कुरा बताएका हुन्।

उनले वैदेशिक रोजगारीमा जानेहरुको हितका लागि काम गर्दा आफुले धेरै तनाव भोगेको बताए। उनले भने ‘शून्य लागतमा मलेसिया पठाइने कदम चाल्यौं। धेरै तनाव भयो। मैले धेरैं तनाव भोगें। मलाई थाहा थियो सात दिन वा एक महिनामा मेरो पद जान सक्थ्यो। तर मैले पदलाई नहेरी जनताको हितको लागि काम गरें।’

उनले मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार भएकाले मन्त्री पद गुम्दा पनि आफु वेखुशी नरहेको बताए। ‘प्रधानमन्त्रीले आफ्नो अनुकलता हेरेर मन्त्रिमण्डल  विस्तार वा पुनर्गठन गर्न पाउँछन्।’ आफु किसानको छोरा रहेको बताउँदै उनले भने ‘गरिबसँग पौंठेजोरी खेल्दै यो ठाउँमा आउनु मेरो सफलता हो।  मन्त्रीमा रहने नरहने भन्ने कुरा होइन्। मुख्य त हामीले पदमा रहँदा वा नरहँदा जनताको मनमा कति बस्यौं भन्ने कुरा महत्वपूर्ण कुरा हो। मन्त्रीको काम मुल्याङकन गर्ने काम जनताको हो। मैले पदको लागि राजनीति गरेको होइन्।’ विष्टका अनुसार नेपालको सन्दर्भमा अहिले पनि जनपक्षिय र जनताको हित हुने काम गाह्रो छ। 

‘लाखौं युवा कामको खोजीमा विदेश जान्छन्। दर्जनौं ठाउँमा ठगिँदै थिए। अधिकांश साहुको ऋण लिएर जान्छन्। तर उनीहरुले विदेशमा भने जस्तो काम र दाम पाउँदैनन्। उनीहरुलाई ८ घण्टा काम तोकिन्छ। तर १२, १४ घण्टा लगाइन्छ, तर उनीहरुलाई ओभर टाइमको पैसा भने नदिने अवस्था थियो। म आएपछि उनीहरुलाई सुरक्षाका साथ काम गर्ने गरी महत्वपूर्ण कदम चाल्यौं। त्यस्तै वैदेशिक रोजगारमा गएर मृत्यु हुँदा क्षतिपूर्ती पाउने, कोषको व्यवस्था गर्ने गरी सुधार गरेका छौं’ उनले भने ‘विदेश जाँदा निशुल्क सीप सिक्न पाउने गरी व्यवस्था गरेका छौं।’

उनले नयाँ श्रममन्त्रीलाई बाहिरबाट सहयोग गर्ने बताए। उनले भने ‘हामीले ल्याएका सुधारको योजनाहरु अलपत्र पार्न पाइँदैन्। त्यसलाई सहयोग गर्न म तयार छु।’

त्यस्तै उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौं युवालाई रोजगार दिने व्यवस्था गरेको बताएका छन्। ‘५०÷६० हजार शैक्षिक वेरोजगारलाई रोजगार दिने तयारी गरेका थियौं। त्यो लागू गर्दा हुन्छ। यो वर्ष ५ लाखभन्दा बढीलाई रोजगार दिने अवस्था छ। त्यो कार्यन्वयन गर्न नयाँ मन्त्रीले धेरै मेहनत गर्नुपर्ने अवस्था छैन्।’

प्रकाशित: ११ मंसिर २०७६ १४:४२ बुधबार

गोकर्ण_विष्ट वैदेशिक_राेजगार नागरिक_फ्रन्टलाइन श्रीराम_पाैडेल