राजनीति

सरकार समृद्धिको दिशामा अघि बढ्यो : मन्त्री भट्टराई

राँझा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन्।

नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उल्लेख गरे।

सरकारको नारालाई देश विदेशमा पुर्‍याउन नेपालगञ्ज म्याराथनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने बताए।

शान्ति, सद्भाव र एकताका लागि नेपालगञ्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको उनको भनाइ थियो। नेपालगञ्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगञ्ज आएको बताउँदै मन्त्री भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने दावी गरे।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणा लगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउन सहयोग गरेको बताए।

नेपालगञ्ज म्याराथनको पाँचौ संस्करणमा २ हजार ७०० जनाभन्दा बढी सहभागि भएका छन्। नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगञ्ज म्याराथनको शुरुआत गरिएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।

उनका अनुसार म्याराथनमा प्रथम हुनेलाई ६५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई ३५ हजार रुपैयाँ, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार रुपैयाँ र १० हजार रुपैयाँ प्रदान गरिने छ।

नेपालगञ्जको वीपीचोकबाट सुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः वीपीचोकमा आएर म्याराथन पूरा हुनेछ।

प्रकाशित: ७ मंसिर २०७६ ०८:३० शनिबार

समृद्धि सरकार