राजनीति

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसको उजुरी

खोटाङ– खोटाङमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले मूख्या निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।

रिक्त वडाध्यक्ष पदका लागि आगामी मंसिर १४ गते साकेला गाउँपालिका–३ खिदिमामा हुन गइरहेको उपनिर्वाचनको प्रचार–प्रसारका क्रममा नेकपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराईले शुक्रबार कारवाही माग गर्दै मूख्य निर्वाचन अधिकृतको कार्यालय समक्ष उजुरी दिएका हुन्।

नेकपाले १५० ग्रामको कागजमा रंगीन पोष्टर छापेर सार्वजनिक तथा व्यक्तीको घरमा टाँसेको, निर्वाचन आयोगले नेकपालाई चुनाव चिन्ह सुर्य तोकेको भए पनि सुर्य चिन्हको बीचमा हँसिया हथौडा राखेर आयोगको निर्णय बर्खिलाफ गरेको कांग्रेसको आरोप छ।

यस्तै, केही कर्मचारी र शिक्षकले सरकारी मोटरसाइकलमा राखेर नेकपाको उम्मेदवारलाई ओसार–पसार गरिरहेको पाइएकाले सचेत गराउन जिल्ला प्रशासन कार्यालय समक्ष पनि छुट्टै निवेदन दिएको जनाएको छ।

कांग्रेस क्षेत्रीय समितिले शुक्रबार छुट्टै विज्ञाप्ती जारी गर्दै निर्वाचनलाई प्रभावित पार्ने उद्धेश्यले योजना वितरण गर्ने, चन्दा–पुरस्कार दिने, आर्थिक प्रलोभनमा पार्नेजस्ता गतिविधि भएको भन्दै आपत्ती जनाएको छ। विज्ञाप्तीमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित ढंगबाट गतिविधि सञ्चालन गर्न राजनैतिक दललाई आग्रह गरिएको छ।

कांग्रेसले आयोगको आचार संहिता विपरित चुनावी गतिविधि नगर्न आफ्नो नेता तथा कार्यकर्तालाई पनि निर्देशन दिएको छ।

यसैबीच, कांग्रेसले गत कात्तिक ८ गतेदेखि मंसिर ५ गतेसम्मको आर्थिक कारोबार सम्वन्धी शिर्षक, रकमको मात्रा र कारणको विवरण माग गर्दै साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृत समक्ष निवेदन दिएको छ।

प्रकाशित: ६ मंसिर २०७६ १२:३० शुक्रबार

निर्वाचन आचार_संहिता उल्लंघन उजुरी