राजनीति

पोखराको विकास र समृद्धिको खाका तयार छः भट्टराई

कास्की– कास्की निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताएकी छिन्।

पोखरा महानगरपालिकाको दक्षिण भेग वडा नं २१ मा आज आयोजित चुनावी घरदैलो कार्यक्रममा उनले अबको तीन वर्षको अवधिमा बाँकी योजना सफल बनाएरै छाड्ने उद्घोष गरिन्।     

निर्मलपोखरीको दम्सादीबाट सुरु भएको घरदैलो कार्यक्रम फेदीपाटन, अम्बोट हुँदै दबारमा पुगेर चुनावीसभामा परिणत भएको थियो। नेकपा पोखरा–२१ का चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा–२१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेललगायतले नेकपा सरकारले गरेका कार्यको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे थप जनाकारी दिए। 

यसैबीच निर्वाचन क्षेत्रका ११ वटै वडामा शुक्रबारबाट नेकपाले पदयात्रा निकाल्दैछ। महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका  वडामा पदयात्रा निकालिन लागेको हो। पोखरा–८ मा पनि बिहानै महिलाले भट्टराईका पक्षमा पदयात्रा निकालेका छन्।

सिर्जनाचोकबाट शुरु भएको पदयात्रा जाल्पारोड, बगालेटाल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो। रासस

प्रकाशित: ६ मंसिर २०७६ ११:१४ शुक्रबार

पोखरा विद्या_भट्टराई