राजनीति

ओलीको राष्ट्रवाद कालापानीमा उत्रियोः देउवा

पोखरा- कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुगेर उत्रिएको बताएका छन्। ओलीको राष्ट्रवाद कालापानीमा मिलेको उनले बताए। चुनाव जित्नका लागि मात्र ओलीले राष्ट्रवादको नारा अघि सारेको उनको भनाइ छ।

पोखरामा शुक्रबार प्रजातन्त्रवादी कानुन व्यावसायीको संस्था (डिएलए) को वार्षिक साधारणसभामा बोल्दै देउवाले भने, ‘राष्ट्रवाद त कालापानीमा मिलिसक्यो। राष्ट्रवादको नारा भजाइएको मात्र हो।’ त्यो बेलाको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको उनले बताए। निर्वाचनको बेला राष्ट्रवादको नारा बोकेर चुनाव जित्ने खेल गरेको उनले बताए। ‘राष्ट्रवाद समर्पणवादमा गइसक्यो,’ उनले भने।

ओली सरकारले न्यायालय, प्रेसका अधिकार खोस्न खोजेको पनि उनले बताए। संवैधानिक परिषद्लाई कठपुतली बनाउन खोजिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तो खोजेको उनले बताए। ‘सबैतिर बद्मासी छ। प्रजातन्त्रका खिलापमा कोही लाग्छ भने हामी लड्छौ,’ उनले भने, ‘संसद र सडकमा गएर लड्नुपर्ने अवस्था आएपनि तयार छौ।’  

कांग्रेस महामन्त्री सशांक कोइरालाले अहिलेको उपनिर्वाचन जनता कांग्रेससँग कत्तिको आकर्षित छन् भनेर परीक्षण गर्ने बेला भएको बताए। ‘नेपाली कांग्रेसका लागि यो परीक्षण हो। कांग्रेस एक भएर लागेमा कसैले हराउन सक्दैन,’ उनले भने, ‘कांग्रेसमा जब तिक्तता आउँछ, त्यो बेला कांग्रेसले हार्छ। त्यसैले अब कांग्रेस एक भएको देखाउने बेला भएको छ।’

प्रकाशित: ६ मंसिर २०७६ ०९:२० शुक्रबार

राष्ट्रवाद कालापानी देउवा