राजनीति

उपनिर्वाचन तयारीबारे कूटनीतिक समुदायलाई जानकारी

काठमाडौं – निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय र मितव्ययी हुनेमा कूटनीतिक नियोगलाई आश्वस्त पारेको छ। नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारीलाई उपनिर्वाचनको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन हुने भन्दै उपनिर्वाचनको अवलोकनका लागिसमेत आग्रह गरेको हो।

नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिलाई सम्कोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गर्न सम्पूर्ण तयारीसमेत पूरा भएको जानकारी दिए। ‘आचारसंहिता अनुगमनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र निर्वाचनमा भाग लिएका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आचारसंहिता अनुगमन समिति गठन गरिएको छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा कुनै गुनासो र कुनै घटना घटेको छैन।’

निर्वाचन सुरक्षा प्रबन्ध आयोगको प्रमुख प्राथमिकता रहेको बताउँदै थपलियाले सरकारले सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाएको बताए। उनले मतदानको दिन विभिन्न मतदान केन्द्र पुगेर मतदान प्रक्रियाको अवलोकन गर्न समेत आग्रह गरेका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको २०७४ सालमा सम्पन्न निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका ५२ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका पदाधिकारी ४८ गरि ५२ पदमा हुन लागेको निर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन्।

प्रकाशित: ६ मंसिर २०७६ ०१:३५ शुक्रबार

उपनिर्वाचन कूटनीतिक_समुदाय