राजनीति

आचारसंहिता उल्लंघन भयो : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र सत्तारूढ दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई प्रभावित गर्न सरकार र सत्तारुढ दल सक्रिय रहँदा पनि निर्वाचन आयोगले त्यसलाई रोक्न तदारुकता नदेखाएको आरोप लगाएको हो।

पार्टी केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठन भएको अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले आचारसंहिताविपरीत भइरहेका गतिवधि तत्काल रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

‘सरकार स्वयं सरकारको नेतृत्व गरेको राजनीतिक दल, दलबाट निर्वाचित जनप्रतिनिधिहरुबाट निर्वाचन आचार संहिताको ठाडो उल्लघंन भएको छ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ। लेखक समितिले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसंग भेटर आचारसंहिताको कडाई गर्न ध्यानाकर्षण गरेको जनाउँदै कांग्रेसले भनेको छ, ‘यसका वावजुद पछिल्लो समयमा निरन्तर आचारसंहिताविपरीत सत्ताको दुरुपयोग गरी उप–निर्वाचनलाई प्रभावित गर्ने काम भइरहेका छन्।’

उप–निर्वाचन हुने स्थानमा सरकार र सो सम्वद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचार प्रसारमा गएको जनाउँदै उसले भनेको छ, ‘पूर्व कार्यक्रममा नभएका नयाँ योजना, कार्यक्रम दिने, त्यस्ता आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्नेलगायतका क्रियाकलाप भएका छन्। यस्ता कार्यको हामी घोर भत्र्सना गर्दछौं र आचार संहिताविपरीतका यस किसिमका गतिविधि नदोहो¥यउन पनि सचेत गर्दछौं।’

प्रकाशित: ६ मंसिर २०७६ ०१:३१ शुक्रबार

आचारसंहिता उपनिर्वाचन