राजनीति

सत्य निरुपणमा बाँकी पदाधिकारीको नाम सोमबार सार्वजनिक गरिने

काठमाडैं– सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ।

समितिका सदस्य शर्मीला कार्कीका अनुसार आइतबार बिहान बसेको बैठकले भोलि (सोमबार) आयोगमा परेका नामहरुको सूचना सार्वजनिक गर्ने र ती नामहरुमा उजुरी गर्न पाँच दिन समय दिइनेछ र त्यसपछि नाम सिफारिस हुनेछ। 

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो।

पदाधिकारीका लागि सम्भावित नामहरुमा उजुरी आह्वान गर्ने प्रक्रियाबाहेक अरू काम हुन सकेको छैन। अब भने प्रक्रिया अगाडि बढ्ने तय भएको छ। दुवै आयोग पदाधिकारीविहीन हुँदा सङ्क्रमणकालीन न्याय प्रभावित हुँदै आएको छ।

पदाधिकारी नियुक्ति गर्दा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने द्वन्द्वपीडित साझा चौतारीले माग गरेको छ। रासस

प्रकाशित: १ मंसिर २०७६ १०:२२ आइतबार

सत्य_निरुपण छानबिन_आयोग