नेपालगन्ज– नेपाली कांग्रेस निकट नेपाल तरुण दलले गरेको बन्दका कारण शुक्रबार बाँकेको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न पाएका छैनन्। यस्तै उद्योग, कलकारखाना, शैक्षिक संस्था पुरै ठप्प भएका छन्।
केहि दिन अघि नेपालगन्ज–२० मनिकापुरस्थित नमस्ते भिलेज रेस्टुरेन्टमा पार्किङ गरेर राखिएको नेपाल तरुण दल नेपालगन्ज उपमहानगर सभापति संदिपजंग शाहको बा १८ च ४२११ नम्बरको कारको सिटमुनीबाट एक थान अमेरिकन पेस्तोल, दुई राउण्ड गोली र म्याग्जिन प्रहरीले बरामद गरेको थियो।
शाहलाई रिहा गर्नुपर्ने तथा प्रहरी, प्रशासनले सत्ताको आडमा आफ्ना कार्यकर्तालाई अनाहकमा दुःख दिएको भन्दै तरुण दल बाँकेले बन्द आव्हान गरेको हो। नेपाली कांग्रेस तथा तरुण दलका कार्यकर्ताहरु सडकमा परिचालन भएर बिहानैदेखि प्रर्दशन गरिरहेका छन्। उनीहरुले सडकमा टायर बालेर सरकारविरुद्ध चर्का नारा लगाएका छन्।
प्रकाशित: २९ कार्तिक २०७६ ०९:३३ शुक्रबार